लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई ‘विज्ञानको सुपरपावर’ बनाउने भन्दै योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले त्यसका लागि वैज्ञानिक अनुसन्धानमा बजेट थपिएको घोषणा गर्दै योजना सार्वजनिक गरे । उनले नेसनल साइन्स एन्ड टेक्नोलजी काउन्सिलको अनुसन्धान आम मासिनको हितमा ल्याउन रणनीतिक मार्गनिर्देशन गर्न त्यसको अध्यक्षता आफैं गर्नेसमेत जनाएका छन् । उक्त काउन्सिलको नेतृत्व भने सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालेन्सले गर्ने जनाइएको छ । भालेन्सले राष्ट्रिय प्रविधि सल्लाहकारको भूमिकासमेत सम्हाल्ने बताइएको छ ।
प्रधानमन्त्री जोन्सनले बेलायको खोप कार्यक्रमले विज्ञानमा सुपरपावर बन्न सक्ने प्रमाणित गरेको समेत दाबी गरेका बीबीसीले जनाएको छ । ‘सही कार्य, गति र सहयोगले विभिन्न वैज्ञानिक र प्राविधिक खोजमार्फत् हामीले विश्वभरिका मानिसहरूको जीवन परिवर्तन गर्न सक्छौं,’ जोन्सनले भने ।
सरकारको अनुसन्धान प्राथमिकतालाई अगाडि बढाउने र यूकेको विज्ञान क्षमतालाई आवश्यक कोष जुटाउने कार्य विज्ञान तथा प्रविधि रणनीति कार्यालयले गर्नेछ । जोन्सनले यूकेको खोप सफलतालाई कार्बन उत्सर्जन शून्यमा झार्ने प्रविधि र क्यान्सर निको पार्ने उपचारजस्ता अन्य प्राथमिकता क्षेत्रमा विस्तार गर्न चाहेको बताएका छन् ।
‘सय वर्षयता अहिले जस्तो देश र सबै नागरिकहरू विज्ञान र वैज्ञानिकहरूप्रति कृतज्ञ भएको मलाई सम्झना छैन,’ जोन्सनले भनेका छन् । कोरोना भाइरसको अनुभवले ठूलो पाठ सिकाएको जोन्सनको भनाइ छ । विज्ञानले जस्तोसुकै अप्ठ्यारा पनि पार लगाउन सक्छ भन्ने देखिएको उनले बताए ।
आफूहरू सूचना प्रविधिको विकास तथा विस्तारको गतिमा पछि परेको स्वीकार गर्दै जोन्सनले भनेका छन्, ‘यदि हामीले गरेनौं भने अरूले गर्छन् । हामीले फाइभ–जी विकास गर्न कुनै मिहिनेत गरेनौं र त्यसको घाटा सह्यौं ।’
दोस्रो विश्वयुद्धपछि पहिलो पटक पश्चिमा देशहरू सञ्चार प्रविधिको प्रतिस्पर्धामा पछाडि परेका उनको भनाइ छ । ‘यो निकै महँगो पर्ने साबित भएको छ र अर्को यस्तो गल्ती गर्न चाहँदैनौं ।’ सर प्याट्रिकले नेसनल साइन्स एन्ड टेक्नोलजी काउन्सिल विज्ञान र प्रविधिलाई नीति निर्माणको केन्द्रमा राख्ने बताए । उनले यूकेलाई रणनीतिक लाभ दिने अनुसन्धान र प्रविधि चिन्न कार्यालयले सहयोग गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-