सिराहा नाडहाका राजकिशोर यादव सीएमएको अध्ययन सकेर औषधि पसल सञ्चालन गरिरहेका थिए । औषधि पसलको आयस्रोतले परिवार धान्न मुस्किल भएपछि राेजगारीका लागि इजरायल जाने साेच बनाएर उनी भाषा परीक्षा दिन काठमाडाैं आएका छन् । ‘देशमा पढेअनुसारको रोजगारी पाइँदैन । अब विदेश नगएर कहाँ जानु त’, गोल्डन गेट कलेजअगाडि भेटिएका उनले भने, ‘विदेशमा त केही पैसा कमाइ हुन्छ । एक्लो भए त ठीकै थियो । परिवारका लागि भए पनि विदेशिनु परेको छ ।’
यस्तै, ताप्लेजुङकी सावित्रा लिम्बु पनि अनमी अध्ययन सकेर लोकसेवा तयारी गरिरहेकी थिइन् । उनले पनि अध्ययन सकेर देशभित्रै रोजगारी नपाएपछि कामदारका रूपमा इजरायल जाने साेच बनाएर भाषा परीक्षा दिन आएकाे बताइन् । मदन भण्डारी कलेजको गेटमा भेटिएकी लिम्बुले देशभित्र रोजगारी नपाएका कारण विदेशिनु पर्ने बाध्यता रहेको बताइन् । ‘सरकारले बेरोजगार युवालाई बेवास्ता गर्छ । रोजगारी कतै पाइँदैन । त्यही भएर इजरायल रोजगारीका लागि जान परीक्षा दिन आएँ’, उनले भनिन् ।
यसैगरी दिपालयकी ललिता मगर पनि इजरायलको रोजगारीका लागि परीक्षा दिन काठमाडौं आएकी छन् । मगर पनि सीएमए अध्ययन सकेर राेजगारीकाे खाेजीमा थिइन् । अध्ययन सकेर बेरोजगार बस्नुभन्दा इजरायल जाने सोच बनाएर परीक्षा दिन आएको उनले बताइन् ।
‘सीएमए पढ्दा धेरै खर्च लागेको छ । परिवारले मलाई पढाउँदा ऋण गरेका छन् । ऋण तिर्न भए पनि इजरायल जानुपर्ने बाध्यता छ । विदेशिन रहर होइन बाध्यता हो’, उनले भनिन् । उनले नेपालमा राजनीतिक पावर भएकाहरूले मात्रै जागिर पाउने गरेकाे बताइन् ।
इजरायल रोजगारीमा जान परीक्षा दिन काठमाडौं आएका अधिकांश सीएमए, अनमी र स्वास्थ्यसम्बन्धी अध्ययन गरेकाहरू छन् ।
नेपाल सरकार र इजरायली सरकारबीच सम्झौता भएबमोजिम (जिटुजी) मोडलबाट रोजगारीमा पठाउन आज लिखित भाषा परीक्षा लिइएको छ । इजरायल रोजगारीका लागि आवेदन दिएकामध्ये ७ हजार ३ जना भाषा परीक्षामा सहभागी भएको वैदेशिक राेजगार विभागले जानकारी दिएको छ ।
अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुनेछ । त्यसमध्ये १ हजार ४ सय जना मात्र गोलाप्रथाका लागि छानिने विभागले जनाएको छ । छानिएकाहरूको गोलाप्रथा नेपालस्थित इजरायली दूतावासले गर्नेछ । गोलाप्रथाबाट छानिए पनि ४ सय जनाले रोजगारीका लागि इजरायल जाने अवसर नपाउने विभागले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-