आञ १७ वर्षअघि अर्थात् २०६१ भदौ १६ गते रोजगारीका लागि विभिन्न बाटो हुँदै १२ नेपाली मध्यपूर्वी देश इराक पुगे। सोझासादा नेपालीलार्ई त्यहाँको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्मम तरिकाले हत्या गरेको थियो। यद्यपि सँगै अपहरणमा परेका भारतीय र फिलिपिन्सका नागरिकलार्ई त्यहाँका सरकारको पहलमा छुटाइको थियो। दुर्भाग्य १२ नेपालीको बीभत्स हत्या भएको दृश्य सार्वजनिक भएपछि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिए।
नेपालीलार्ई विदेशीहरूले सुरक्षा क्षेत्रमा बिना हिच्चकिचाहट काममा राखिहाल्छन्। यो हाम्रा लागि गौरवको कुरा हो।
अफगानिस्तानमा केही वर्ष अगाडि तालिबानीले गराएको घटनासँगै नेपाल सरकारले नेपालीलाई अफगानिस्तानमा रोजगारीका लागि जान बन्देज गरेको छ। तर लुकिछिपी, चोरबाटोबाट मानव तस्करहरूले कति नेपालीलाई त्यहाँ पुर्याए, कति नेपाली त्यहाँ कार्यरत छन्, कुन अवस्थामा छन् भन्ने यकिन विवरण न नेपाल सरकारसँग छ न त कुनै संघसंघठनसँग। किनकि त्यहाँ पुग्ने नेपाली हजारौंको संख्यामा अवैध बाटो हुँदै त्यस्ता देशमा पुग्ने गरेका छन्। यसरी जाने नेपाली रेड र ग्रिन जोनमा प्राइभेट सेक्युरिटी होस् या अन्य जुनसुकै क्षेत्रमा पनि काम गर्न विवश छन्। किनकि बहादुर नेपालीको उपमा पाएका नेपालीलाई विदेशी कम्पनीहरूले रोजगारी अर्थात् काम दिन पूर्ण विश्वास गर्छन्।
के हो प्राइभेट मेलिटरी एन्ड सेक्युरिटी ?
प्राइभेट मेलिटरी एन्ड सेक्युरिटी कम्पनी जसलार्ई छोटकरीमा पीएमएससीको नामले अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संयुक्त राष्ट्र संघले परिभाषित गरेको पाइएको छ। पीएमएससीले विशेष गरी सशस्त्र, निःशस्त्र सुरक्षा, सुरक्षा सल्लाह, हातहतियारको सुरक्षा तथा मर्मत सम्भार, कारागार सुरक्षा, महत्त्वपूर्ण भौतिक कार्यालय, अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूको सुरक्षा, दूतहरूको सुरक्षा र स्थानीय सुरक्षा संयन्त्रलाई तालिम प्रदानको सेवा उपलब्ध गराउने गर्दछ।
आलोचकहरूले निजी सैन्य बल र सुरक्षाकर्मीलार्ई मर्सिनरी भन्ने गर्दछन्। जेनेभाको आर्टिकल ४७ को अनुसार मर्सिनरी अर्थात् (भाडाका सैनिक) भन्नाले निजी लाभका लागि कुनै सशस्त्र द्वन्द्वमा लड्न जाने व्यक्ति भन्ने पनि बुझिन्छ। मर्सिनरीहरूको आफ्नै देशको राष्ट्रिय स्वार्थ हुँदैन। तर आजको दिनमा प्राइभेट मेलिटरी अर्थात् सेक्युरिटी कम्पनीलार्ई अलिक फरक तरिकाले परिभाषित गरे पनि मुख्य उद्देश्य भनेको निजी तवरबाट सुरक्षा प्रदानको काम गर्नु नै हो भन्नेमा दुई मत छैन। मध्यपूर्वी राष्ट्र इराक र अफगानिस्तानमा वैध तथा अवैध बाटोबाट पुग्ने थुप्रै नेपाली सुरक्षा क्षेत्रमा कार्यरत छन्। केही वर्षअघि अफगानिस्तानको काबुल घटनामा ज्यान गुमाउने नेपाली पनि क्यानेडियन दूतावास र त्यहाँका कर्मचारीको सुरक्षाका लागि निजी सुरक्षा कम्पनीबाट खटाइको बुझिन्छ।
प्राइभेट मेलिटरी एन्ड सेक्युरिटीको प्रयोग
इतिहास पल्टाउने हो भने सन् १९४७ देखि सन् १९९१ सम्म चलेको शीतयुद्धको अन्तपछि प्राइभेट मेलिटरी एन्ड सेक्युरिटी कम्पनीहरूको प्रयोग बढेको पाइन्छ। सुरक्षाका लागि युद्धग्रस्त देशहरूमा नेपाली विदेशी कम्पनी र विदेशी नागरिकको पहिलो रोजाइ विश्वासिलो पात्र, निडर र परिश्रमी वर्करको रूपमा पर्दै आएका छन् नेपाली। इतिहासदेखि नै हरेक ठाउँमा गौरवशाली काम गर्दै आएका नेपालीलाई संयुक्त राष्ट्रसंघदेखि प्राइभेट मेलिटरी, सेक्युरिटी कम्पनीहरूले युद्धग्रस्त क्षेत्रमा अहिले मात्र होइन, पहिले पनि काम दिँदै आएका थिए। किनकि हामी नेपाली बहादुर गोर्खालीको नामले विश्व चर्चित छौं। त्यसैले नेपालीलार्ई विदेशीहरूले सुरक्षा क्षेत्रमा बिना हिच्चकिचाहट काममा राखिहाल्छन्। यो हाम्रा लागि गौरवको कुरा हो।
निजी क्षेत्रको सशस्त्र र निःशस्त्र सुरक्षाकर्मी प्रयोग गर्दा ठूलो मात्रामा सैनिक संख्या कटौती हुन्छ। त्यसबाट देशको ठूलो बजेट खर्च हुनबाट पनि जोगिन्छ। निजी सुरक्षाकर्मी आफूलार्ई आवश्यक परेका बखत मात्र प्रयोग गर्न सकिने भएकाले पनि थुप्रै देश निजी सुरक्षा कम्पनीको सशस्त्र सुरक्षाकर्मीतिर आकर्षित भएका छन्। त्यस्तै जागिर अवधि सकिएपछि पेन्सनको ग्यारेन्टी गर्नु नपर्ने, तालिम दिन लगानी गर्नु नपर्ने, हातहतियार किन्नु नपर्ने, कुनै मानवअधिकार उल्लंघनको घटना घटिहाले पनि जिम्मेवारीबाट पन्छिन सजिलो हुन देखिन्छ। त्यसैले पनि निजी सुरक्षा कम्पनीप्रति आकर्षित हुँदै गएका छन्। यो प्रक्रिया उनीहरूको एक प्रकारको ठूलो व्यवसाय पनि बन्न पुगेको छ।
सन् १९९१ बाट २००२ सम्म सेरा लियोनमा ठूलो सिभिल वार भयो। सेरा लियोनमा भएको युद्धमा गोर्खा सेक्युरिटी गु्रपअन्तर्गत निजी बेलायती कम्पनीले पूर्वगोर्खाहरूलार्ई पनि तैनाथ गरेको थियो। १९९१ पछि अफ्रिकामा पूर्वमा गोर्खाहरू सम्मलित गोर्खा सेक्युरिटी गु्रपलगायत अन्य निजी सुरक्षा कम्पनीहरूको व्यवसाय धेरै बढेको पाइन्छ। विभिन्न देशबाट सञ्चालित यस्ता सुरक्षा कम्पनीले मुख्यतः मानिसहरू भर्ती गर्दा तीन स्थानबाट गर्छन्। पहिलो कम्पनी कार्यालय रहेको सम्बन्धित देशबाट दोस्रो सबकन्ट्र्याक्टर मार्फत अन्य देशबाट र तेस्रो इन्डिया बेसबाट भर्ती गर्दै आएका छन्। यसैअन्तर्गत धेरै नेपाली इन्डिया बेसमा मेनपावर र एजेन्टहरू मार्फत इराक र अफगानिस्तान पुग्ने गरेका छन्।
कुनै पनि देशमा निजी क्षेत्रका सशस्त्र सुरक्षा बल होस् वा निःशस्त्र सुरक्षाकर्मीबाट हुने विभिन्न घटनाबाट सिर्जित परिस्थितिको अन्तर्राष्ट्रिय जगत्मा चर्को आलोचना पनि हुँदै आएको छ। कुनै पनि देशको सरकारी सेनाले मानव अधिकार उल्लंघन गरे सैनिक कानुनअनुसार कोर्ट मार्सल गर्दै सैनिक अदालतले कारबाही गर्ने गर्छ। ती सरकारी सेनामाथि सेनाको चेन अफ कमान्ड र अन्तर्राष्ट्रिय आचारसंहिता लागू हुन्छ। तर, निजी सुरक्षा बलले यस्ता नियमहरूको खासै पालन गरेको पाइँदैन।
इराक र अफगानिस्तान युद्धको क्रममा कतिको संख्यामा सरकारी सैनिकहरूको मृत्यु भयो भन्ने तथ्यांक सम्बन्धित देशसँग हुन्छ। सोही तथ्यांकका आधारमा ती सैनिक परिवारले क्षतिपूर्ति र सरकारबाट सम्मान पाएका पनि छन्। तर, निजी क्षेत्रका सुरक्षाकर्मीको हकमा कतिको संख्यामा उनीहरूको मृत्यु भयो, कति गम्भीर घाइते भए र कति बेपत्ता यकिन सरकारी अभिलेख छैन कि भन्ने अनुमान लगाउन सकिन्छ। नेपाललगायत देशबाट अहिले पनि सैनिक र प्रहरीको अनुभव नभएका मानिस पनि सशस्त्र सुरक्षामा इराक र अफगानिस्तानजस्ता प्राइभेट सेक्युरिटी कम्पनीहरूले खटाइएको पाइन्छ। कथंकदाचित कुनै पनि घटना, दुर्घटना भयो वा जोसुकैको ज्यान गयो भने त्यसको जिम्मेवारी लिनेको भन्ने प्रश्न विश्वजगत्मै उठेको छ।
इराक, अफगानिस्तान होस्से, सेरा लियोन होस् वा कुनै युद्धग्रस्त राष्ट्र त्यस्ता देशमा निजी क्षेत्रका सुरक्षाकर्मीलार्ई मर्सिनरी अर्थात् (भाडाका मान्छे मार्न आउने सैनिक) भनेर नै आलोचना गर्ने गरिएको पाइन्छ।
किन जान्छन् नेपाली इराक, अफगानिस्तानमा ?
झन्डै दुई दशकमा छिमेकी मुलुकले विकासको पाटोमा कोल्टे फेरेर संसारलार्ई चकित बनाएका छन्। तर, हाम्रो आर्थिक स्थिति खस्केर दक्षिण एसियामै गरिब राष्ट्रको सूचीमा पुच्छरतिर पुगेको अवस्थामा छ। देशमा गरिबी, अशिक्षा र बेरोजगारीले जरा गाडेर बसेको छ। देशका राजनीति नेतृत्व जो देश र जनताका अभिभावक हुन्, उनैले देशलार्ई विकासको बाटोमा डोर्याउनु पर्नेमा सधंैको अस्थिरता, सधैंको राजनीतिक खिचातानीले नेपालीलाई लज्जित बनाइदिएको अवस्था छ।
प्रतिक्रिया लेख्नुहोस्:-