राष्ट्र ब्याङ्कले सटही सुविधाको कुल रकम कम नगरेको तर ब्याङ्कहरूलाई नगद कम दिन र डिजिटल माध्यमलाई प्रोत्साहित गर्न आह्वान गरेको जनाएको छ। विदेशी मुद्रा सञ्चिती हुने क्रम घट्ने र आउँदा दिनमा अमेरिकी डलर कम हुँदै जाने देखिएको बताउँदै राष्ट्र ब्याङ्कका प्रवक्ताले डिजिटल माध्यममा जोड दिन भनिएको बताउँछन्। देवकुमार ढकाल भन्छन्, “मानिसहरूलाई मर्का पर्ने अवस्था छैन। पैसा त उही हो, तर डिजिटल माध्यममा जोड दिन हामीले ब्याङ्कहरूलाई आग्रह गरेका हौँ।” चाडबाड नजिकिँदै जाँदा विदेशी मुद्रा सञ्चितीमा चाप पर्ने विगतकै प्रवृत्ति भए पनि साउन महिनामा रेमिट्यान्स व्यापक कम भएको समेत देखिएको थियो।
किन घट्यो नगद सञ्चिती?
नेपालमा विदेशी मुद्राको मुख्य स्रोतका रूपमा रहेका रेमिट्यान्स अघिल्लो वर्ष साउन महिनामा २३ प्रतिशतले बढेकोमा यो वर्ष सोही अवधिमा त्यो १७.५ प्रतिशतले घटेको राष्ट्र ब्याङ्कको विवरणले देखाउँछ। त्यसैगरी दोस्रो मुख्य स्रोतको रूपमा रहेको पर्यटन डेढ बर्षभन्दा बढि समयदेखि ठप्प छ। यिनै प्रवृत्तिमाझ ‘सजगता अपनाउन आवश्यक’ ठानेको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्। प्रवक्ता ढकाल भन्छन्, “चाडपर्व नजिकिएकाले भदौ र असोजमा रेमिट्यान्स त्यसरी नै घट्ने त नहोला तथापि अहिले हामी त्यति सहज अवस्थामा छैनौँ।”
कस्तो छ अवस्था?
गत आर्थिक वर्षको अन्त्यमा विदेशी विनिमय सञ्चिती १,३९९ अर्ब रूपैयाँ बराबरको देखिएकोमा साउन महिनाको अन्त्यमा त्यो ३.२ प्रतिशतले घटेको सरकारी विवरण छ। सोही अवधिमा अमेरिकी डलरमा मात्र त्यस्तो सञ्चितीमा २.८ प्रतिशतले कमी आएको पाइएको छ। साउन महिनाको विवरण हेर्दा झण्डै देशको ढुकुटीले ८.३ महिनाको वस्तु तथा सेवा र ९.३ महिनाको वस्तु आयात गर्न सक्ने अवस्था रहेको बताइन्छ। यसअघि सरकारले ‘श्वेतपत्र जारी गर्ने बेलामा’ यसै वर्षको जेठ महिनाको सञ्चितीले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने जनाएको थियो। मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्ने गरेको छ।
निर्यातमा कडिकडाउ गर्ने सोच
विदेशी मुद्रा संचयको अवस्थालाई बलियो अवस्थामा राख्न आयातमा उत्पादनमूलक वस्तुलाई प्रोत्साहन गर्ने र अनावश्यक एवम् विलासी सामानलाई निरूत्साहित गर्नेबारे समेत नियालिरहेको राष्ट्र ब्याङ्कका प्रवक्ताको भनाइ छ।
त्यस्तो सूची बनाउनका लागि आफूहरू जुटिरहेको बताउँदै प्रवक्ता ढकाल भन्छन्, “उत्पादनलाई सघाउने उपकरण, सामान र कच्चापदार्थलाई त प्रोत्साहन गर्नै पर्छ। हामीहरूले उपभोग नगर्दा पनि हुने वा आयात भएर यहाँ आएर अन्यत्र जाने सामानलाई निरूत्साहित गर्नुपर्छ।”
कयौँ महिना कोभिड महामारीका कारण यात्रा गर्न नपाएकाहरूको समेत यतिखेर विदेश जाने क्रम उल्लेख्य रूपमा बढ्न थालेकाले त्यसको मार समेत विदेशी मुद्रामा चुलिएको बताइन्छ। ढकाल भन्छन्, “पर्यटकीय भिसामा बाहिरिने र श्रमका लागि विदेश जानेले निश्चित डलर बोकेकै देखिनुपर्ने नियमको चाप समेत विदेशी मुद्रामा पर्ने देखिएको छ।”
प्रतिक्रिया लेख्नुहोस्:-