केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लागेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुरोध गरेको जनाउँदै राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि यी चार वस्तुको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्न कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
यसअघि केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो। तर यस आर्थिक वर्षमा आयातका लागि अहिलेसम्म कोटा निर्धारण भइसकेको छैन भने इजाजत समेत प्रदान नभएको राष्ट्र बैंकले जनाएको छ।
कोटा नछुट्याएकाले ती वस्तुको आयातका लागि नयाँ प्रक्रिया अघि नबढाउन भनिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईले जानकारी दिए। इजाजत प्रदान नभएकाले ती बस्तुको आयातका लागि बैंकिङ तथा भुक्तानी सम्वन्धी प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले सूचना जारी गरेको छ।
तर आर्थिक वर्ष २०७७/७८ को लागि ती बस्तुको आयातमा कोटा पाएका आयातकर्ताले २०७८ असार मसान्तभित्र जहाज ढुवानी गराइसकेका र एलसी/डिएपी/डिएए/डिडी/टिटी खोलिसकेका बस्तुहरु हकमा भने यस आर्थिक वर्ष पनि भन्सार जाँचपास हुने छ।
अर्थात असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा ती बस्तु नेपाल ल्याउन पाइनेछ। निर्देशक भट्टराईले सरकारले कोटा छुट्याएपछि र इजाजत दिएपछि मात्रै आयातका लागि प्रक्रिया अघि बढ्ने बताए।
सेतोपाटीसँगको कुराकानीमा भट्टराईले भने ‘कोटा छुट्याउने/नछुट्याउने, कति छुट्याउने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्छ, यस आर्थिक वर्षका लागि सरकारले कोटा छुट्याइसकेको छैन, त्यसकारण नयाँ आयातका लागि एलसी खोल्न वा सामान मगाउन पाइएन।’
उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घटेपछि आयात नियन्त्रणका लागि यतिबेला उपायहरुको खोजी भइरहेको छ। मुलुकमा आयात उच्च दरले बढ्दा विदेशी मुद्राको सञ्चिति एक महिनामै ४५ अर्ब २१ करोड रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबरको विदेशी विनिमय सञ्चिती रहेकामा साउनमै ३.२ प्रतिशतले कमी आइ १३ खर्ब ५३ अर्ब ८२ करोडमा खुम्चिएको छ। यसरी विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण आयातको उच्च वृद्धि रहेको बताउँछन् राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल।
‘आयात यही दरमा बढ्दै जाने, रेमिट्यान्सको आप्रवाहमा कमी आउने अवस्था देखिएकाले अब सजगता अपनाउनुपर्ने बेला भएको हो,’ ढकालले सेतोपाटीसँगको कुराकानीमा भने।
प्रतिक्रिया लेख्नुहोस्:-