काठमाडौं। राष्ट्राध्यक्षहरुले विदेश भ्रमणमा उपहार पाउनु सामान्य कुरा हो । नियमअनुसार उनीहरुले यो उपहारको जानकारी सम्बन्धित मन्त्रालयलाई दिन्छन् । तर, पाकिस्तानमा भने प्रधानमन्त्री इमरान खान र उनकी पन्ती बुशरा बीबीले देशलाई नबताइ करोडौं मूल्यका उपहार बेचिदिएको आरोप लागेको छ ।
इमरान खान २०१८ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले कैयौं देशको भ्रमण गरेका थिए । ती देशहरुमध्ये साउदी अरेबिया पनि थियो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले इमरानलाई भ्रमणको क्रममा बहुमूल्य हाते घडी उपहार दिएका थिए ।
अबरार खालिद नामका एक पाकिस्तानी नागरिकले सूचना आयोगमा निवेदन दिँदै इमरान खानले अन्य देशहरुबाट पाएका उपहारको जानकारी मागेका थिए । जवाफमा यी उपहारको जानकारी दिन नसकिने भनियो । खालिद पनि जिद्दी निस्किए । उनले इस्लामाबाद हाइकोर्टमा निवेदन दिएर उपहारबारे जानकारी मागे ।
इस्लामाबाद हाइकोर्टले इमरान सरकारसँग सोध्यो ‘तपाइँ उपहारहरुको जानकारी जनतालाई किन दिनुहुन्न ?’ सरकारका वकिलले जवाफ दिए ‘यसबाट देशको सुरक्षालाई खतरा छ । यसका अलावा अन्य देशहरुसँग हाम्रो सम्बन्ध खराब हुन सक्छ त्यसैले जनतालाई अन्य देशहरुबाट प्राप्त उपहारको जानकारी दिन सकिँदैन ।’
पमकिस्तानी पत्रकार आरिफ अजाकिया र इमदाद अली शुमरोका अनुसार इमरानलाई साउदी राजकुमार सलमानले सुनबाट बनेको र हीरा जडिएको बहुमूल्य हातेघडी उपहार दिएका थिए । सलमानले यस्ता २ वटा मात्र घडी बनाउन लगाएका थिए । एउटा आफैंसँग राखेर अर्को इमरानलाई उपहार दिएका थिए । यो घडीको मूल्य १६ करोड रुपैयाँ थियो ।
इमरानले घर आएपछि यो घडी आफ्नी पत्नी बुशरा बीबीलाई राख्न दिए । बुशराले यो घडी एक स्टाफलाई दिएर यसको मूल्य पत्ता लगाउन भनिन् । स्टाफले यो घडी निकै महंगो भएको बताए । बुशराले ती स्टाफलाई घडी बेचिदिन भनिन् । तर, बेच्नका लागि पठाइएको घडी ब्राण्डेड देखेपछि शोरुमका मालिकले यो घडी उत्पादक कम्पनीलाई फोन गरेर यो घडीबारे सोधे ।
घडी बिक्रीका लागि आएको थाहा पाएपछि घडी उत्पादक कम्पनीले सिधै मोहम्मद बिन सलमानको अफिसमा सम्पर्क गरेर भने ‘तपाइँले जुन २ वटा घडी बनाउन लगाउनुभएको थियो तीमध्ये एउटा बिक्रीको लागि आएको छ । यो तपाइँले बेच्न पठाउनुभएको हो वा चोरी भएको हो ?’ सलमानले कुरा बुझे । उनले निर्माता कम्पनीलाई घडी किन्न भने । यसरी सलमानले उपहार दिएको विशेष उपहार घुम्दैफिर्दै उनकै हातमा पुग्यो ।
पत्रकार शुमरोका भन्छन् ‘इमरान खानले यी उपहारको जानकारी तोशाखाना र क्याबिनेट कमिटीलाई दिँदै दिएनन् होला । उनले कौडीको मूल्यमा यी चीन किने होलान् अनि पछि यिनीहरुलाई बेचेर मोटो रकम हासिल गरे । इमरानकै इशारामा सबैथोक भयो उनले देशको नाक काटे ।’
पाकिस्तानकी प्रसिद्ध पत्रकार आलिया शाहका अनुसार पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्री वा अन्य पदका व्यक्तिहरुले पाएको उपहारको जानकारी नेशनल आर्काइभलाई दिनुपर्छ । यी उपहारलाई तोशाखानामा जम्मा गराउनुपर्छ । यदि उपहार १० हजार पाकिस्तानी रुपैयाँभन्दा कमको भए सम्बन्धित व्यक्तिले राख्न पाउँछन् । १० हजारभन्दा धेरै मूल्यका उपहार २० प्रतिशत मूल्य तिरेर राख्न पाइन्छ । ४ लाख भन्दा बढी मूल्यका उपहार यसरी मूल्य तिरेर राष्ट्रपति र प्रधानमन्त्रीले मात्र राख्न पाउँछन् । कसैले नकिने लिलामी हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-