काठमाडौं : चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा ६१ हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण भई अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३८ हजार ४ सय ९२ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या २२ हजार ९ सय ७६ पुगेको बताएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९९.२ र ८६.५ प्रतिशतले घटेको भन्दै बैंकले हाल संस्थागत तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रममा उल्लेख्य रुपमा वृद्धि भएको बताएको छ ।
वैदेशिक रोजगार व्यवसायीहरूले श्रम गन्तव्य मुलुकहरूबाट नेपाली कामदारका लागि डिमाण्ड रहे पनि नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणमा ढिला गर्ने गरेका कारण रोजगारीमा पठाउने क्रमले तिव्रता पाउन नसकेको बताएका छन् ।
यूएईमा रहेको दूतावासले प्रमाणीकरणका लागि पेश गरेका मागपत्रमा आफुखुशी कोटा तोकेर प्रमाणीकरण गर्ने, साउदीस्थित नेपाली दूतावासले प्रमाणीकरण नै ढिला गर्ने तथा युरोपेली मुलुकमा रहेका दूतावासहरूले जनशक्तिको अभाव देखाएर डिमाण्ड प्रमाणीकरण नगर्ने व्यवसायीहरूको भनाइ छ ।
युरोपेली देशमा रहेको डिमाण्ड प्रमाणीकरणको समस्याका बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गरेको बताइएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा केही वृद्धि भएपनि नेपाल आउने रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह भने ६.३ प्रतिशतले कमी आएको भन्दै बैंकले १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ कायम भएको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको भन्दै राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-