एजेन्सी । सदिआ एल्भीले कोभिड महामारी सुरु हुनु अगाडि अष्ट्रेलियामा दुई वर्ष राम्ररी बिताएकी थिइन् । तर भिक्टोरियामा लकडाउन भएपछि देशले सिमाना बन्द गर्यो । यसबीच एल्भी आफ्नो पति र परिवारबाट टाढा थिइन् । र उनी आफ्नो मूल देश पाकिस्तान जान पाइनन् । न्यु साउथ वेल्समा रहेका उनको पतिलाई एल्भीले नौ महिना अगाडि देखेकी थिइन् ।
कोभिडको दोस्रो लहर लामो समयसम्म रहनाले उनले आफ्नी छोरीलाई स्कुल पठाउन पनि पाइनन् र आफ्नो रिसर्चमा समेत पछि परिन् ।
उनी हाल मोनाश युनिभर्सिटीमा फार्माकोलोजी विषयमा पिएचडी गरिरहेकी छन् । तर उनका अनुसार महामारीका बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई एकदमै बेवास्ता गरियो । उनी भन्छिन्, “अन्य कुनैपनि देशले आवासीय स्तरका आधारमा यति धेरै भेदभाव गरेन होला । ”
उनको आलोचना नयाँ भने होइन । गृह विभागले व्याख्या गरे अनुसार त्यहाँका अन्तर्राष्ट्रिय विद्यार्थीहरु हाल सबैभन्दा संवेदनशील अवस्थामा छन् जससँग घर जानेदेखि काम गर्ने या स्वास्थ्य सेवा सम्म एकदमै सिमित विकल्पहरु मात्र छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुले २०२० मा संघीय कल्याणकारी सेवा प्राप्त गरेनन् र आपत्कालीन सहयोगका लागि पनि योग्यता नपुग्ने हुँदा उनीहरु एकदमै कठिन स्थितिमा पुगेका हुन् ।
यसरी कोरोना महामारीका बेला अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सङ्ख्या ठूलो स्तरमा घट्यो । स्टुडेन्ट भिसाका लागि आवेदन दिनेमा मात्र ३६ प्रतिशत गिरावट देखिएको थियो ।
तर अहिले अष्ट्रेलियाले आफ्नो सिमाना खुलाउने तयारी गरिरहेको छ र आफ्नो तेस्रो सबैभन्दा ठूलो उद्योगलाई पुनः सक्रिय बनाउने बताइरहेको छ । तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पहिलेको स्तरमा देश भित्र्याउन केबल यति कदम पर्याप्त नहुने पनि बताइएको छ ।
‘इन्टरनेस्नल एजुकेसन कन्सल्टेन्सी प्रोस्पेक्ट रिसर्च एण्ड मार्केटिङ’ का रब लरेन्स भन्छन्, “अष्ट्रेलियाले सिमाना खुलाएर सबैको पक्षमा आउला तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पहिलेकै स्तरमा फिर्ता ल्याउन उनीहरुले एकदम कठोर प्रयास गर्नुपर्ने हुन्छ । ’
हालै गरिएको ३४०० विद्यार्थीहरुको सर्वेक्षणमा कोभिड–१९ बाट सबैभन्दा नराम्ररी प्रभावित भएकै बेला सरकारले अस्थाइ भिसा भएकाहरुलाई आफ्नै देश फर्किने निर्देशन दिनुले विद्यार्थीहरु माझ अष्ट्रेलियाको छवि अत्यन्तै खराब बनाइदिएको उल्लेख छ ।
जस्तै टुन शिआङ फु महामारीको सुरुवाती समयमा मलेशिया फर्किएका थिए र त्यहीँबाट अनलाइन पढिरहेका छन् ।
युनिभर्सिटी अफ मेर्बनमा आर्टसको डिग्रीले छिटै ग्राजुएट हुन गइरहेका विद्यार्थीहरुमाथि महामारीमा दुई शैक्षिक वर्ष बराबरको यात्रा प्रतिबन्ध लगाइएको उनले बताए । शिआङ फु भन्छन्, “मैले अन्डर–ग्राजुएट विद्यार्थीहरुबाट उनीहरु अब अरु नै ठाउँमा ट्रान्सफर गर्ने योजना बनाइरहेका बारे धेरै सुनिरहेको छु । ”
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शैक्षिक संघको विद्यार्थी सर्वेक्षणले के पत्ता लगाएको छ भने कोभिड–१९ का बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले दुई तरिकामा सबैभन्दा कठिन परिस्थितिको सामना गर्नुपर्यो । एक त उनीहरु परिवारबाट टाढा भएर बस्नुपर्यो भने अर्को चाहिँ कक्षाहरु अनलाइन मात्र हुनुले एक्लोपना झन बढाइदियो ।
यसको रिपोर्ट अनुसार अष्ट्रेलियामा काम गरिरहेका दुई तिहाइ अन्तर्राष्ट्रिय विद्यार्थीहरुले महामारीका समयमा आफ्नो जागिर गुमाउनुपर्यो । त्यस्तै २८ प्रतिशतले कोभिड–१९ का कारण आफ्नो घर बदल्नुपर्यो । यसमा एक तिहाइले चाहिँ आफ्नो युनिभर्सिटीबाट खाद्य सामग्री पाइरहेको पनि बताएका थिए ।
त्यसैले पनि २०२० को अन्त्यतिर हामीले अष्ट्रेलिया या न्युजिल्यान्ड बसिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यी देशप्रतिको भाव बारे सोध्दा आफूहरु गुज्रनुपरेका कठिन परिस्थिति पहिचान नहुनुले उनीहरुलाई निराश तुल्याएको र असन्तुष्ट भएको स्प्ष्ट पारेका हुन् । ”
अष्ट्रेलियाले आगामी नोभेम्बर महिनादेखि आफ्नो सिमाना खुलाउने जनाएको छ । यस अन्र्तगत सुरुवातमा खोप लगाएका अष्ट्रेलियन नागरिक र तिनका आफन्तहरुलाई देश भित्र बाहिर यात्रा गर्न दिइनेछ ।
सिमाना खुलाए पनि विदेशीहरुका लागि तत्काल अष्ट्रेलिया यात्रा गर्न सजिलो हुनेछैन । तर सरकारले यस सम्बन्धी काम गरिरहेको र बिस्तारै पर्यटकहरुलाई पनि स्वागत गरिने बताएको छ । सिड्नी मर्निङ हेरोल्ड
प्रतिक्रिया लेख्नुहोस्:-