काठमाडौं:= नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको हो ।
बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनः एकीकरणका लागि नेपालको प्रस्तावअनुसार अघि बढ्न कतारी अधिकारीहरू सहमत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभएको छ ।
साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने भएको छ ।
त्यस्तै कतारमा रहेका नेपालीलाई कोरोनाका कारण परेको प्रभाव न्यूनीकरण गर्न कतारको दोहास्थित नेपाली राजदूतावासले प्रस्ताव गरेबमोजिम गर्ने र अदक्ष जनशक्ति पठाउने विषयमा आवश्यक गृहकार्य गरेरमात्रै निर्णयमा पुग्ने पनि सहमति भएको छ ।
घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीको आग्रहपछि उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनका क्रममा समेट्ने सहमति भएको बताइएको छ ।
प्रवक्ता घिमिरेका अनुसार यसअघि कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो ।
घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारी टोलीको आग्रहपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्ने बताउनुभएको थियो । नेपालतर्फबाट बैठकको नेतृत्व सहसचिव विनु बज्राचार्य र कतारका तर्फबाट रिक्रुटमेन्ट डाइरेक्टर फुइज महमद एनएमल अल रेजले नेतृत्व गर्नुभएको थियो ।
यसअघि संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले सातवटा शर्त पूरा गरेमात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो । कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पूरा गर्न तयार रहेको जनाएको छ ।
साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-