बिबिसी नेपाली: करिब दुई साताअघि गोकर्णेश्वरस्थित विद्या संस्कार विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण देखियो। उनमा सङ्क्रमण पुष्टि भएको खबर पाउना साथ विद्यालय प्रशासनले सम्बन्धित कक्षाका सम्पूर्ण विद्यार्थी र अभिभावकलाई जानकारी गरायो। र, भौतिक कक्षा स्थगन गरी अनलाइन कक्षा सञ्चालन गर्यो।
विद्यालयका व्यवस्थापक दीपक अधिकारीका अनुसार एक सातासम्म अन्य विद्यार्थीहरूमा लक्षण नदेखिए पछि पुनः भौतिक उपस्थितिमै पठन पाठन भयो।एकजना मात्र विद्यार्थीमा सङ्क्रमण पुष्टि हुँदा अन्यका लागि अनलाइन कक्षा प्रभावकारी विकल्प बन्यो। तर, एकसाथ धेरै विद्यार्थी सङ्क्रमित हुँदा विद्यालय नै ठप्प पार्नु पर्ने स्थिति आएको देखिन्छ।
गत बिहीबार बागलुङ नगरपालिका, बलेवास्थित एक विद्यालयका २५ जना विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भयो। लगत्तै नगरपालिकाका करिब एक दर्जन विद्यालय बन्द गर्ने निर्देशन दिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताए।
विद्यार्थीहरूमा सङ्क्रमण देखिनुले समुदाय स्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले भौतिक कक्षा सञ्चालन एक साताका लागि ठप्प पारिएको हो। मङ्सिर २४ गतेसम्म सङ्क्रमण देखिएको वडामा स्वास्थ्यकर्मीहरूद्वारा अनुगमन र लक्षण देखिएकाहरूको परीक्षणमा जोड दिने पौडेलले बताए।
”एउटा विद्यार्थीबाट अर्कोमा, विद्यालयबाट घरमा र घरबाट समुदायमा सङ्क्रमण फैलने सम्भावना रहेकाले विद्यालय ठप्प पार्नुको विकल्प रहेन,” उनले बीबीसीसँग भने, ”हामी अवस्थाको मूल्याङ्कन गरी सङ्क्रमण नियन्त्रणको योजना बनाउँदै छौँ।” एकसाथ ठूलो जमातमा सङ्क्रमण देखिएपछि परीक्षणको दायरा बढाएको र हरेक दिन सङ्क्रमित थपिँदै गएको बागलुङका जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए।
उनले भने,”लक्षण देखिएकाले परीक्षण गरिएको हो। त्यसपछि सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको पनि स्वाब जाँच गर्दा सङ्क्रमित थपिँदै गएका छन्।” केही समय यता नेपालमा दैनिक पुष्टि हुने सङ्क्रमण दर न्यून बन्दै गएको छ। तर, नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएसँगै सङ्क्रमण बढ्ने सम्भावना र जोखिमबारे सङ्क्रामक रोग विशेषज्ञहरूले चेतावनी दिइरहेका छन्।
कसरी सुरक्षित रहँदै छन् त विद्यालय?
विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र स्थानीय तहले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड अनुरूप विद्यालय सञ्चालन भइरहेको विद्या संस्कार विद्यालयका व्यवस्थापक अधिकारी बताउँछन्। ती स्वास्थ्य मापदण्डहरूमा अनिवार्य मास्क लगाउनु, नियमित हात धुनु, स्यानिटाइजरको प्रयोग, कक्षा कोठाहरूमा डिस्इन्फेक्टेन्ट स्प्रेको प्रयोग आदि पर्छन्।
“हाम्रो विद्यालयमा दुई जना नर्सहरू हुनुहुन्छ। साथै कुनै पनि विद्यार्थीलाई विद्यालयमा छँदै लक्षण देखिएको अवस्थामा राख्नका लागि आइसोलेसन पनि बनाएका छौँ,” उनले भने। त्यस्तै विद्यालयमा अध्यापन गराउने एवं नगराउने हरेक कर्मचारीले दुवै मात्रा खोप लगाएको निश्चित भएपछि मात्र भौतिक कक्षा सञ्चालन गरेको उनको दाबी छ। गोकर्णेश्वर नगरपालिकामै रहेको अरुणोदय उच्च माध्यमिक (सामुदायिक) विद्यालयका प्रधानाध्यापक कृष्ण नेपाल नयाँ भेरिअन्ट पुष्टि हुनुले विद्यालयमा सङ्क्रमणको जोखिम बढाएको स्वीकार्छन्।
“खोप नलगाएको समूह जम्मा हुने ठाउँ हो विद्यालय। यहाँ सङ्क्रमणको जोखिम पनि बढी हुन्छ। तर, सधैँ पठनपाठन ठप्प राख्न पनि सकिँदैन। त्यसैले नगरपालिकाले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरेर अध्यापन जारी राखेका छौँ,” उनले भने। कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दो लक्षण देखिएका विद्यार्थीलाई घरमै बस्न आग्रह र स्वाब परीक्षणका लागि प्रेरित गरेको उनले बताए। त्यसै सङ्क्रमण भएर वा लक्षण देखिएर घरमै बस्ने विद्यार्थीहरूका लागि सिकाइ सामग्री तयार पारिएको नेपालको कथन छ।
भौतिक दूरी कायम गर्नै मुस्किल
काठमाण्डू उपत्यकामा सर्वाधिक विद्यार्थी भएको सामुदायिक विद्यालय हो-बाफलस्थित ज्ञानोदय उच्च माध्यमिक विद्यालय। हाल शिशु कक्षादेखि कक्षा १० सम्ममा ३६४३ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा शारीरिक एवं भौतिक दूरी कायम गर्नै मुस्किल भएको गुनासो गर्छन् प्रधानाध्यापक नातिकाजी महर्जन।
“विद्यार्थीहरू नै अटाइ नअटाइ छन्। त्यसैले दूरी तोकेर बस भन्न गाह्रो छ। सबैले मास्क त अनिवार्य लगाउँछन् तर अन्य स्वास्थ्य मापदण्ड पनि सुरुसुरुमा त सबैले पालना गर्थे। बिस्तारै त्यो पनि कम हुँदैछ,” महर्जनले सुनाए। सङ्क्रमणको जोखिम बढेको अवस्थामा अनलाइन कक्षा नै उपयुक्त विकल्प बन्ने उनले जिकिर गरे।
यद्यपि, यसअघिका अनलाइन कक्षाहरूमा कक्षा ७ देखि माथिका विद्यार्थीहरू नियमित उपस्थित भए र पाठ्यक्रम सरासर अघि बढ्यो। तर, शिशु कक्षादेखि कक्षा ६ सम्मको अनलाइन कक्षामा अभिभावकको निगरानी अनिवार्य बनाइएको थियो। अभिभावकहरूले समय दिन नसकेकै कारण धेरै विद्यार्थी नियमित उपस्थित भएनन् र अध्ययन अध्यापन प्रभावित बनेको उनले सुनाए। उनले भने,”अहिलेका लागि पढाइभन्दा बढी स्वास्थ्यमा ध्यान दिन अह्राएका छौँ। लक्षण देखिएका विद्यार्थीहरू विद्यालयमा जानकारी दिएर बिदा बस्ने गरेका छन्।”
खोपले समस्या न्यूनीकरण गर्न सक्छ
कोरोनाभाइरसविरुद्धको खोपले सङ्क्रमणको जोखिम कम गर्ने र सङ्क्रमण भइहालेको स्थितिमा त्यसले पुर्याउने असर कम गर्ने चिकित्सकहरूले बताएका छन्। नेपालमा दुई साता अघिदेखि मात्र १२ वर्षदेखि १८ वर्षसम्म उमेर समूहकालाई खोप दिन थालियो। देशभरका २४ वटा तोकिएका अस्पतालमा खोप उपलब्ध गराइएको हो। तर, किशोर किशोरीका लागि निश्चित अस्पतालमा मात्र खोप उपलब्ध गराउनु व्यवहारिक नभएको तर्क अघि सार्छन् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका अध्यक्ष ऋतुराज सापकोटा।
“एक १२ देखि १८ वर्ष उमेर समूहलाई खोपको उपलब्धता नै ढिला भयो। जब उपलब्ध भयो तब सीमित केन्द्र तोकिएको छ। नियमित विद्यालय धाउने बालबालिका खोप केन्द्र पुग्नु, लाम बस्नु र खोप लगाउनु सबैको हकमा पहुँचको हिसाबले पनि व्यवहारिक हुँदैन,” उनले भने। विद्यालयमै खोप उपलब्ध गराउनु पर्ने विषयमा सापकोटाले जोड दिए।
“पछिल्लो समय कोरोनाभाइरसप्रति लापरवाही गरिएको छ। समाज, बजार सबैतिर लापरवाही देखिन्छ। त्यसको असर विद्यालयमा पनि परेको छ,” उनले भने। ”विद्यालय भित्र त्यो हदको लापरवाही त भएको छैन। तर नयाँ भेरिअन्ट देखिएको अवस्थामा सङ्क्रमणबाट जोगिने योजनाबारे छलफल गर्छौँ।”
के छ नियम?
कुनै पनि विद्यालय कुन क्षेत्रमा छ र त्यस क्षेत्रमा सङ्क्रमणको अवस्था कस्तो छ भन्ने कुराले विद्यालय निर्देशित हुन्छ। समग्रमा ‘स्मार्ट लकडाउन’को अवधारणा अन्तर्गत तयार कार्य योजना अनुसार विद्यालय बन्द गर्ने वा कसरी सञ्चालन गर्ने निर्धारण गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। सङ्क्रमण दर, सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या र अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्याका आधारमा कुनै पनि क्षेत्रलाई कोरोनाभाइरस सङ्क्रमण जोखिमको रेड जोन, एम्बर जोन, एल्लो जोन र ग्रीन जोन भनेर छुटाइन्छ।
“कुनै पनि क्षेत्र रेड जोनमा परेपछि तत्काल विद्यालय बन्द गरिनु पर्छ। एम्बर जोनमा परे एक तिहाइ विद्यार्थी राखेर पढाउन पाइन्छ। एल्लो जोनमा रहेका विद्यालयहरूले उच्च सतर्कतासहित र ग्रीन जोनमा परेकाहरूले मापदण्डको कडा पालनासहित विद्यालय सञ्चालन गर्नु पर्यो,” शर्माले भने। उनका अनुसार शिक्षा मन्त्रालयले बनाएको उक्त कार्य योजना अनुसार विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहसँग हुन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-