काठमाडौँ — भारतको पुनेमा सोमबार सुरु भएको तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) संयुक्त सैनिक अभ्यासमा नेपालबाट पनि सहभागिता भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त अभ्यासमा नेपालबाट सैनिक पर्यवेक्षकको हैसियतमा एक जना महासेनानीले प्रतिनिधित्व गरिरहेका छन् । साथै, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका सैनिक सहचारी रामचन्द्र खत्री कार्यक्रममा सहभागी हुन पुनेमा गएका छन् ।
प्रवक्ता पौडेलले उक्त अभ्यास विपद् व्यवस्थापन प्रतिकार्यमा रहेको र त्यहाँ अनुभवको आदान–प्रदान हुने बताए । उक्त अभ्यासमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका छन् । संयुक्त सैनिक अभ्यासमा महामारीको पृष्ठभूमिमा प्राकृतिक प्रकोपसँग जुध्न संयुक्त प्रतिक्रिया संयन्त्र विकास गर्ने उद्देश्यले बिमस्टेक मुलुकहरुको बहुराष्ट्रिय मानवीय सहायता र विपद् राहत अभ्यास भएको सेनाले जनाएको छ ।
सन् २०१८ को सेप्टेम्बरमा पुनेमा हुन लागेको पहिलो संयुक्त सैनिक अभ्यासमा नेपालले सहभागिता जनाएको थिएन । त्यस बेला ६ दिनको संयुक्त अभ्यास आयोजना गरिएको थियो । उक्त अभ्यास सेप्टेम्बर १० देखि १५ सम्म थियो । नेपालका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त अभ्यासको समापन कार्यक्रममा जाने तय भएको थियो । तर अभ्यासका बारेमा नेपालमा विरोध हुन थालेपछि तत्कालिन केपी शर्मा ओली सरकारले उक्त अभ्यासमा नेपालको तर्फबाट सहभागिता नजनाउने निर्णय गरेका थिए ।
ओलीले तत्कालिन नेकपा भित्रैबाट उक्त अभ्यासमा सहभागिता जनाउने सम्बन्धमा विरोध भएपछि नेपाली सेनालाई जानबाट रोक्ने निर्णय गरेका थिए । नेपालले सुरुआतमा सहभागिता जनाउने वचन दिए पनि अभ्यासका लागि नजाने भएपछि भारत रिसाएको थियो । उक्त अभ्यासमा भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका थिए ।
यस पटक विपद् व्यवस्थापनको क्षेत्रमा मात्र अनुभवहरु साटासाट गर्नको लागि नेपाली सेनाका अधिकारी पर्यवेक्षकको रुपमा पुने गएको सैनिक प्रवक्ता पौडेलले बताए । उनले पहिलो सैनिक अभ्यासका दौरान नेपालबाट पहिलो सहभागिता जनाउने भनिए पनि पछि सहभागिता नजनाएको प्रष्ट पारे । ‘नेपालमा हामीले अन्य सैनिकहरुसँग जसरी संयुक्त सैनिक अभ्यास गर्दा विपद् व्यवस्थापनका सम्बन्धमा अभ्यास गर्दै आइरहेका छौं । बिमस्टेकको संयुक्त सैनिक अभ्यासमा पनि त्यहि विषयमा अनुभवहरु आदान–प्रदान गरिनेछ,’ उनले भने ।
पहिलो बिमस्टेक सैनिक अभ्यासमा संयुक्त अभ्यासको एजेन्डा स्पष्ट नहुँदा भारतले सुरक्षा रणनीति अघि सारेको र नेपाल अन्य मुलुकसँगको सुरक्षा सहकार्यमा हुन नहुने भन्दै विरोध गएपछि सहभागिता रोकिएको थियो । यस पटक भने विपद् व्यवस्थापनको सम्बन्धमा संयुक्त सैनिक अभ्यास भएपछि नेपालले सहभागिता जनाएको सेनाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-