काठमाडौँ — बहराइन सरकारले बाप्को प्रोजेक्ट (प्रमुख ग्यास/तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न नेपालीसहित विदेशी श्रमिकको चित्त बुझाउन नसकेमा स्वदेश फिर्ता पठाउन सहजीकरण गर्ने जनाएको छ । बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कार्पोरेसनमा कार्यरत श्रमिकले काम बन्द गरेका हुन् । त्यस प्रोजेक्टमा कार्यरत श्रमिकले सुरक्षा र स्वस्थकर खाना दिनुपर्ने माग राख्दै मंगलबारबाट काम छाडेर क्याम्पमा नै बसेका छन् । बहराइनको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकलाई काम फर्काउने प्रयास गरिरहेका छन् । नोगा क्याम्पमा ७ सय नेपाली सहित विदेशी श्रमिकहरु आन्दोलनरत छन् ।
उच्च अधिकारीले बुधबार चरणवद्ध रुपमा उनीहरुसँग छलफल गरेका थिए । काममा फर्किन नचाहेमा स्वदेश फर्काउन बहराइन सरकार तयार भएको छ ।
बहराइन सरकारले प्रोजेक्टमा देखिएका कमीकमजोरीलाई सुधार गर्ने विश्वास दिलाएको छ । यसमा श्रमिकहरु विश्वस्त नभए उनीहरुको लागि विकल्प खुला गरिएको छ बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङले कान्तिपुरलाई भनिन्, श्रमिकहरु स्वदेश फिर्ता हुन चाहेमा सहजीकरण गरिनेछ ।आन्दोलनरत नेपाली श्रमिकका माग सुन्दै नेपाली दूतावासका श्रमसहचारी दामोदर दाहाल(निलो कोट) । यसैगरी भारतीय दूतावासका प्रतिनिधिले भारतीय श्रमिकहरुका यस्तै माग बुझ्न पुगेका थिए ।
त्यस कम्पनीलाई एसओएस म्यानपावर कम्पनीले नेपाली श्रमिक पठाएको हो । एसओएसले १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म लिई पठाएको उनीहरुले बताए । काम बन्द गरेपछि नेपाली दूतावासका श्रम सहचारी दामोदार दाहालले आन्दोलनरत श्रमिकको अवस्था बुझ्न नोगा क्याम्प पुगेका थिए ।
कामबाट फर्केर मेसमा खाना खानेक्रममा ढल्न पुगेका एक श्रमिकको समयमा नै उपचार नहुँदा ज्यान गएपछि श्रमिकहरु आक्रोशित भइ काम बन्द गरेका हुन् । प्रोजेक्टमा कार्यरत भारतीय र नेपाली श्रमिकहरुले कम्पनीको लापरबाहीबाट एक महिनामै २० जना श्रमिकहरुको मृत्यु भइसकेको दाबी गरेका छन् । बिहीबार पनि एक श्रमिकको मृत्यु भएको थियो ।
उनीहरुले ग्यास/तेल प्रशोधन केन्द्रको बीचमा क्याम्प राखिएकोले आफ्नो स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाँउमा स्थान्तरण गर्नुपर्ने माग राखेका छन् । ‘नेपाली दूतावासबाट आउनु भएको प्रतिनिधिलाई हामीले घर फर्किन्छौं भनेका छौं । कम्पनीबाट सुधार हुन्छ भन्ने हामीलाई विश्वास छैन संखुवासभाका पासाङ शेर्पाले भने धेरै साथीहरुले घर फर्किनको लागि आफ्नो नाम टिपाइरहेका छन् ।
खाना मेसमा लामबद्ध श्रमिकहरु । खाना पाउन श्रमिकहरु कम्तिमा आधा घण्टा पालो कुर्नुपर्छ । एकैपटक सैयौं जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था छैन । घर फर्किन इच्छुक भएका अधिकांश झन्डै दुई महिनाअघि मात्रै बहराइन पुगेका थिए । मान्छे मरेको थाहै नै हुन्न । रातको समयमा ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ । यसले धेरै मान्छे विरामी भइराख्छ गोरखाका सन्जिव बरालले भने यहाँबाट क्याम्प हटाउन सबैको माग छ ।
कम्पनीले श्रमिकलाई स्वस्थकर र पोषणयुक्त खाना पनि दिने गरेको छैन । हामीलाई सुंगरको चारो भन्दा थर्ड क्लासको खाना खुवाउँछ । ताजा खानेकुरा केही दिँदैन । खानामा चामलको बोरा, बोत्तलको टुक्राहरु फेला पर्छ उनले भने, काम पनि निकै लामो छ । बिहान ५ बजे क्याम्पबाट निस्कनुपर्छ । एकैपटक बेलुका ८ बजेमात्रै आइपुग्छौं । पुरा ओभरटाइमको रकम दिने गरेको छैन ।
उनीहरुले आफूहरु स्वदेश फिर्न चाहेका बताएका छन् । ‘यस्तो अधकल्चो भएर बाँच्नु भन्दा फर्किनु नै बेस हुन्छ । खुकुरी कति जोडले गएको छ भन्ने अचानोलाई मात्रै थाहा हुन्छ । हाम्रो हालत यस्तै भएको छ । यहाँ फस्नु हुँदैन सिन्धुलीका प्रदीप थारुले बताए ।
त्यस कम्पनीमाअधिकांश स्कापफोल्डिङ र हेल्परको रुपमा कार्यरत छन् । कम्पनीले स्कापफोल्डिङ काम गर्ने श्रमिकलाई १ सय २० र हेल्परलाई १ सय बहराइनी दिनार दिने भनेर माग पत्र प्रमाणीकरण गरेको थियो । कम्पनीले करारपत्र अनुसार तलब भुक्तानी गरेको छैन । स्कापफोल्डिङलाई १ सय १० र हेल्परलाई ७० दिनार मात्रै पाइरहेका छन् । ‘हामीलाई महिनाको ५० हजार रुपैयाँसम्म आउँछ भनिएको थियो । यहाँ २५ हजार रुपैयाँ पनि बचाउन मुस्किल छ थारुले भने, हामीलाई जतिसक्दो उद्धार गर्न आग्रह गर्दछौं ।












प्रतिक्रिया लेख्नुहोस्:-