वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई तत्काल कुनै पनि निर्वाचनका कामलाई स्थगित गर्न आदेश दिएका छन्।
उनले निमित्त प्रमुख निर्वाचन आयुक्त एटर्नी बासु फुलारालाई एक अति जरुरी इमेल लेख्दै यस्तो आदेश दिएका हुन्। एनआरएनए अमेरिकाको कार्यसमितिको निर्णयको हवाला दिँदै साहले पठाएको यस्तो आदेशलाई निमित्त प्रमुख निर्वाचन आयुक्त फुलाराले भने पूरै बेवास्ता गरिदिएका छन्।
साहको पत्रको जवाफ इमेलमार्फत नै दिँदै फुलाराले निर्वाचनको कार्यतालिका नै सार्वजानिक गरिदिएका छन्। उनले जुन २५ मा यस्तो कार्यतालिका सार्वजानिक गर्दै जुलाई १ मा डेलिगेटका १८ सिटमा निर्वाचन सम्पन्न हुने जानकारी एनसीसी अमेरिकालाई दिएका छन्।
यतिमात्र होइन जम्मा ४५ सिटमा डेलिगेटको चुनाव हुनुपर्नेमा फुलाराले २९ सिट एनआरएनएका स्थानीय च्याप्टर अर्थात् राज्यसमितिबाट सिधै छनौट गर्ने र बाँकी १८ सिटमा मात्र निर्वाचन गर्ने निर्णय पनि गरिदिएका छन्।
त्यसमा पनि उनले एनसीसी बोर्डको निर्णय विना नै कुन कुन क्षेत्रबाट कति कति संख्यामा डेलिगेट निर्वाचित गर्ने भन्ने निर्णय पनि आफैं गरिदिएका छन्।
निर्वाचन आयोगले गैरकानूनी काम गरेको भन्दै आइसीसीका लागि डेलिगेट पठाउन आइसीसी र एनसीसीको विधानबमोजिम निर्वाचनको काम गरी डेलिगेट निर्वाचित गर्न एनसीसीले डा.राजन पन्तको अध्यक्षतामा छुट्टै समिति बनाएको छ।
एनसीसीको विधानबमोजिम गठन भएको यो समितिले पनि निर्वाचनको काम थालेपछि निर्वाचन आयोगले आफूखुसी गर्ने निर्वाचनको बैधानिकता कस्तो हुने हो र दुबैतिर छानिएका व्यक्तिहरुको अवस्था के हुने हो भन्ने प्रश्न उठेको छ।
यसैबीच गत निर्वाचनमा अध्यक्षका प्रत्यासीमध्येका एक कृष्ण लामिछानेले एक सार्वजानिक सन्देश प्रकाशित गर्दै निर्वाचन आयोगको कदम विधानविपरीत भएकाले बहस्किार गर्न आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘डेलिगेट चयनको यो विद्यानसंवत विधिलाई नाघेर निर्वाचन समितिले १८ जना डेलिगेटका लागि मात्र निर्वाचन गराउन प्रकृया अघि वढाएका प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको हो। हामी एनआरएनए एनसीसीका सवै सदश्यलाई निर्वाचन आयोगले गर्न लागेको निर्वाचन विधान अनुसार नभएकाले भाग नलिन अनुरोध गर्छौं। उक्त प्रकिृयामा सहभागि नभई वहिस्कार गर्न पनि हाम्रो अनुरोध छ।’
यसैबीच निर्वाचन सम्पन्न गर्नका लागि एनसीसी बोर्डले गठन गरेको समितिकाका संयोजक डा. पन्तले एक विज्ञप्ति जारी गर्दै आफूहरुले निर्वाचनको प्रक्रिया शुरु गरिसकेको बताएका छन्।
उनले भनेका छन्, ‘हामीले आई सी सी र एन सी सी को बिघान अनुसार प्रक्रिया अगाडि बढाई सकेको याहाहरू समक्ष जानकारी गराउदै भोलि आईतबारबाट डेलिगट्सका लागि नोमिनेशन खोली जुलाई १ भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी एन सी सी , रिजनल कमिटी आर. सीमार्फत आई सी सी लाई बुझाईने छ।’ उनले फुलाराको आयोगले गर्ने निर्वाचनको बैधानिकता नभएको जिकिर पनि गरेका छन्।
भर्खरै राष्ट्रिय समन्वय समितिको निर्वाचन सकिएको एनआरएनए अमेरिकाको निर्वाचन आयोग र राष्ट्रिय कार्यसमितिका बीच डेलिगेट निर्वाचन प्रकरणले किचलो उत्पन्न भएको छ । एउटाले अबैध काम गर्न लागेको भन्दै अर्कोले पनि अबैध कार्य थप्न थालेपछि यो किचलोले अमेरिकाको राजनीतिप्रति चासो राख्ने नेपाली समुदायलाई निकै प्रभावित पारेको छ ।
डिसी नेपाललाई प्राप्त विवरणअनुसार, निर्वाचन आयोगमा निमित्त प्रमुख भएका एटर्नी बासु फुलाराले आफू खुसी कार्यतालिका बनाई अन्तर्राष्ट्रिय समन्वय समितिमा डेलिगेट पठाउने निर्वाचन तालिका तयार गरेपछि किचलो थप बढेको हो। यो किचलोका पछाडि अमेरिकामा नेपालीहरुमाझ विभाजनकारी राजनीति गर्दै आएका डा.केशब पौडेलको समूह र व्यापारी गौरी जोशीको समूहका बीचको प्रतिष्पर्धा मुख्य कारक हो।
फुलाराले पौडेलको योजनाअनुसार, केन्द्रमा प्रतिनिधित्व गराउन खोजेका हुन् । तर, एनसीसीको निर्वाचनमा पराजित भएको हालका अध्यक्ष सुनील साहको समूहले पौडेलको योजनामा साथ दिएन ।
समाचारअनुसार फुलाराले एनआरएनए अमेरिकाको विधानको मर्मअनुसार, भन्दै २९ वटा च्याप्टरबाट २९ जना डेलिगेट तय हुने र बाँकी १८ पदमा मात्र निर्वाचन गर्ने भनेपछि आईसीसीको विधान र निर्देशनविपरीत भएको भन्दै एनसीसीले तत्काल निर्वाचनको काम रोक्न आदेश दिएको हो।
अध्यक्ष सुनील साहले लेखेको इमेलमा निर्वाचन कमिटीले प्रस्ताव गरेको चुनाव प्रक्रियामा मतभेत भएकाले तत्कालका लागि चुनावको प्रक्रिया अघि नबढाउन भनिएको छ। निर्वाचन आयोगले एनसीसी बोर्डको निर्णय विना नै १८ पदमा त्यो पनि आफूखुसी क्षेत्र तोकेर निर्वाचन गर्ने घोषणा गर्नु र सो घोषणालाई एनआरएनएको कुनै पनि नियाम उल्लेख नै नगरी रोक्न आदेश दिनु गैरकानूनी काममाथि गैरकानुनी आदेश दिने काम भएको देखिएको हो।
यसअघि ४५ सिटमै निर्वाचन गर्ने र त्यो पनि जुलाई २ भित्रै सम्पन्न हुनुपर्ने गरी एनसीसीको बोर्ड बैठकले निर्णय गरी निर्वाचन आयोगलाई काम शुरु गर्न पत्र लेखेको थियो । तर, निर्वाचन आयोगले शुरुमा जुलाई २ भन्दा अघि विभिन्न कारणले निर्वाचन गराउन नसक्ने र जुलाई ३ र ४ तारिक न्यूयोर्कमा हुन लागेको साधारण सभापछि मात्र गर्न उपयुक्त हुने जानकारी बोर्डलाई पठायो।
त्यसपछि फेरि बोर्डले २ अघि नै निर्वाचन गर्न निर्देश गरेपछि निर्वाचन ४५ सिटमै नगर्ने जम्मा १८ सिटमा मात्रै गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरेको थियो। २९ यसअघि प्रचलन नगरिएको लोकल च्याप्टरहरुलाई २९ सिट विभाजित गरिदिनुमा डा पौडेलसमूहका धेरैले लोकल च्याप्टरमा अध्यक्ष जितेका र उनीहरु नै डेलिगेट बनाएर केन्द्रमा मतदान गराउन लैजाने योजनाले यो नयाँ लफडा झिकिएको बताइएको छ।
पौडेल केन्द्रमा महासचिव पदमा उम्मेद्वारी दिने तयारीमा छन्। अघिल्लो चुनावमा उनी अमेरिकाबाटै मत कम भएर पराजित भएका थिए । उनको प्रतिष्पर्धा टेक्सासका व्यापारी गौरी जोशी उम्मेद्वार बन्ने तयारीमा भएको र यी दुईको अस्वस्थ प्रतिष्पर्धा बढेकाले अमेरिकाको एनआरएनले थप किचलोमा पर्दै गएको छ।
उता, निर्वाचनका क्रममा यति धेरै किचलो भएको बेला प्रमुख निर्वाचन आयुक्त विश्व बराल भने विदामा बसेको बताइएको छ।-डिसी नेपाल












प्रतिक्रिया लेख्नुहोस्:-