तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली कामदार वैदेशिक रोजगारमा जाने खाडी मुलुकहरू धमाधम खुल्न थालेका छन् । साउदीले दुई हप्ताअघि नै व्यापारिक क्षेत्र खुला गरेकोमा कतारले कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूका लागि सहज हुने गरी आवागमन, भेटघाट र समुद्री जलयात्रालाई सहज बनाएको छ ।
खोप उपलब्ध भएको र संक्रमण उल्लेख्य मात्रामा घटेपछि कतारले कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरेकोे कडा स्वास्थ्य मापदण्ड र आवागमन नियन्त्रणमा खुकुलो बनाएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिबन्धहरू फुकुवा भएपछि जनजीवन सामान्य हुन थालेको छ । नयाँ व्यवस्था शुक्रबारदेखि कार्यान्वयनमा आएका हुन् । नयाँ व्यवस्था अनुसार सार्वजनिक र निजी कम्पनीमा ८० प्रतिशत कर्मचारी भौतिकरूपमा उपस्थित भई काम गर्न पाउने छन् । खोप नलिएका कर्मचारीले अनिवार्यरुपमा हप्ताको एकपटक ‘र्यापिड एन्टिजन’ परीक्षण गर्नुपर्नेछ । परिवारसँग वा एक्लै गाडीबाट बाहिर निस्किँदाबाहेक अन्य अवस्थामा मास्क र कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ‘एहत्राज’ अनिवार्य गरिएको छ ।
वैवाहिक र अन्य समारोहमा खोप नलिएका १० जनासहित अधिकतम ४० जनासम्म जमघट हुन, एकै घरमा बस्ने एउटै परिवारका १० जनासम्म सँगै पार्कमा जान खुला गरिएको छ । ४० प्रतिशत क्षमतामा समुद्रीविच, ३० प्रतिशत मेट्रो तथा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने छन् ।
सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोप लगाएको खण्डमा ड्राइभिङ स्कुल ३० प्रतिशत क्षमताको हिसाबले सञ्चालन गर्न छुट दिइएको छ । थिएटर, ब्युटिपार्लर, शैलुन र स्नान गृह भने बन्द नै रहने छन् । सार्वजनिक म्युजियम र पुस्तकालय ५० प्रतिशत क्षमतामा सञ्चालन हुन सक्नेछन् ।
मनोरन्जन प्रदान गर्ने क्षेत्रहरु ७५ प्रतिशत खोप लिएका व्यक्ति भए २० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउने बताइएको छ । ३० प्रतिशत क्षमता नबढ्ने गरी सभा सम्मेलन तथा प्रदर्शनीहरु गर्न पाइने छ भने १२ वर्ष मुनिका बालबालिकाले समेत प्रवेश पाउने गरी ५० प्रतिशत क्षमतामा मलहरु सञ्चालन गर्न छुट दिइएको कतारका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । स्थानीय क्लिन सर्टिफिकेट प्राप्त रेष्टुरेन्ट तथा क्याफेले सबै कर्मचारीले खोप लिएको भएमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाउने छन् ।
उता यूएईले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । प्रतिबन्ध बुधबारदेखि खुला हुने दुबईको संकट तथा विपद् व्यवस्थापनको सुप्रिम कमिटीले जनाएको छ । भारतमा कोभिड संक्रमणको दोस्रो लहर फैलिएपछि गत २४ अप्रिलदेखि यूएईले भारतबाट हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको थियो । भारतसँगै यूएईले दक्षिण अफ्रिका र नाइजेरियाका यात्रुमाथिको प्रतिबन्ध पनि हटाएको छ । नेपालमा पनि संक्रमण कम भएका कारण स्वास्थ्य मापदण्ड पालना गरेर नेपाली कामदारले पनि प्रवेश पाउने अपेक्षा गरिएको छ ।
यूएईले ७ जुलाइसम्म नेपालबाट हुने यात्रालाई रोक लगाएको छ । नयाँ मापदण्ड अनुसार यूएई प्रवेश गर्ने यात्रीहरुले यात्रा शुरु हुनुभन्दा ४८ घण्टा भित्रको कोभिड ‘नेगेटिभ रिपोर्ट’ देखाउनु पर्नेछ ।
कोरोनाा संक्रमण नियन्त्रण नभएपछि ओमानले भने नयाँ प्रतिबन्ध लागू गरेको छ । आइतबार साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गर्दै ओमानले सो समयमा सार्वजनिक स्थल र व्यापारिक गतिविधि बन्द गरेको छ । मध्यान्ह दैनिक ले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-