नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको वजेट प्रस्तुत गरेको छ । बिहीबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै आगामी वर्षका लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख थापा मगरले नगरका २३ वटा वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
नेपालगञ्जले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्ने योजना बनाएको छ । चालु आव २०७७÷७८ मा नेपालगञ्जको कुल बजेट एक अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ ।
कोभिडका कारण गतवर्ष नेपालगञ्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ ।
बजेटमा अनुमानित भन्दा बढी ब्यवसाय कर वृद्धि भएमा अनुमानित भन्दा बढी आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९÷८० मा अनुदानको रुपमा उपलब्ध गराइने भएको छ ।
बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको उपप्रमुख थापा मगरले बताउनुभयो । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुटको ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।-गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-