दोहा, कतार : कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी संघ, कतारले एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको छ । त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सोमीटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल हस्तान्तरण गरिएको हो ।
कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा एक प्रकारको महामारी नै सृजना भई अक्सिजनको अभावमा हजारौंको संख्यामा नागरिकले ज्यान गुमाई रहँदा र दैनिक हजारौँको संख्यामा नागरिक प्रभावित भएको अवस्थामा नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव प्रायः देखिएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघमा आबद्ध व्यवसायीहरूबाट १ करोड २० लाख बराबर रकम संकलन गरी एकद्वार प्रणालीलाई अवलम्बन गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट टि बि कार्की, शंकर न्यौपाने, पिताम्बर रिजाल, दिन्सन बोहरा, प्रेम चौलागाई, मोहन अधिकारी, मधुकर रिजाल, दुर्गा थापा तथा मिडिया कर्मीको उपस्थिति रहेको थियो । उक्त स्वास्थ्य सामग्रीहरु सातवटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुने संघका महासचिव रमेश भट्टले जानकारी दिए ।
आफूहरूको सानो सहयोगले मातृभूमि नेपाल र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको पीडामा मल्हमको काम गर्ने विश्वाससहित सहयोग गरिएको संघका अध्यक्ष महेन्द्र चौलागाईले मध्यान्हलाइ बताए । सहयोगका लागि उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतारस्थित नेपाली राजदूतावासका राजदूत नारदनाथ भारद्वाजलगायत सम्पूर्ण दूतावास परिवार एवं सहयोगदाताहरू प्रति संघले आभार प्रकट गरेको छ ।
संघले कोभिड १९ को कारण कतारमा रहेका पीडित नेपालीहरूलाई राहत वितरण गर्नेदेखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरी उद्धार समेत गर्ने गरेको छ िकतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरू सञ्चालित छन् ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-