संकलनको उपयुक्त वातावरण नहुँदा यसमै निर्भर स्थानीय मर्कामा
रुकुम पूर्व — यहाँको मैकोट र त्यस आसपासका धेरैको मुख्य आम्दानीको स्रोत भनेकै बुकी अर्थात् पाटन हो । हरेक वर्ष एकपटक पाटन जाने र त्यहाँ पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बु टिपेर आम्दानी गर्ने चलन झन्डै चार दशकदेखि चलिरहेको छ ।

तर, पछिल्लो समय भने यार्चा कम पाइनु, यार्चा संकलनको उपयुक्त वातावरण नबन्नु, जलवायु परिवर्तनको असरलगायतले आम्दानीका स्रोत घट्दै गएको स्थानीयको अनुभव छ । यहाँका हरेक घरधुरीको सजिलो र मुख्य आयस्रोत भनेकै यार्चागुम्बु संकलन हो ।
‘गत वर्षजस्तै यस वर्ष पनि खास यार्चा पाइएन, पाउने गरी वातावरण पनि बनेन,’ स्थानीय कर्मसही घर्ती मगरले भने, ‘यस क्षेत्रको आम्दानीको मुख्य स्रोत क्रमशः घट्दै गइरहेको छ ।’ विभिन्न कारणले समयमै यार्चा नउम्रने, उम्रिए पनि कम गुणस्तरको उम्रने गरेको उनको भनाइ छ । गत वर्ष र यस वर्षको सिजन कोरोना महामारीका कारण यार्चा टिप्न सजिलो भएन । दुई वर्ष नै जिल्लाले यार्चा संकलनका लागि बुकी नखोल्ने निर्णय गर्यो । डिभिजन वनले संकलन पुर्जी दिएन । यसले पनि स्थानीय असजिलोमा परे । पाटन, बुकी संकलन खुला नहुने भएपछि मनपरी ढंगबाट यसको खोजी र संकलन गर्ने काम भयो ।
‘हाम्रो मुख्य आम्दानीको स्रोत यही हो,’ एक संकलकले भने, ‘यार्चा नखोजेर त कसरी बाँच्नू ? आफ्नै तरिकाले खोजियो तर पाइनुपर्ने जति पाइएन ।’ भूगोल र वस्तुस्थिति नबुझी यार्चा संकलनमा रोक लगाइएको प्रति उनले आक्रोश पोखे । यार्चा नखोजी हातमुख जोड्न मुस्किल हुने भएपछि बुकी उक्लिएर यार्चा खोजेको उनले बताए । यो सिजन लगभग सकिएको छ । केही बाहेक अधिकांश संकलक घर फर्किएका छन् । धेरै खोज्दा पनि केही मात्रै भेटाउन सकेको एक संकलक रामराज बुढा मगरले बताए ।
पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ नम्बर वडाको लेकाली क्षेत्रमा यार्चा पाइन्छ । यार्चा संकलनका लागि हरेक घरबाट सक्ने जति लेक उक्लिन्छन् । अधिकांशले टिपेकै ठाउँमा त्यो बेच्छन् । त्यसैबाट यहाँका स्थानीयको गुजारा चल्छ । सिजनलाई व्यवस्थित गराउन सिजन व्यवस्थापन समिति बनाउने चलन थियो । तर, दुई वर्षदेखि त्यो चलन पनि छैन । कोरोना महामारीले त्यो चलन पनि हटाउनुपर्ने बाध्यता आइलाग्यो । पुथा हिमालय माविका प्रधानाध्यापक हस्तीमान पुन मगरले स्थानीयको आम्दानीको मुख्य स्रोत घट्दै गएको बताए । ‘यार्चाका अतिरिक्त विविध कारणले यहाँका स्थानीयको आयस्रोत घट्दै गएको छ,’ उनले भने, ‘यसले गर्दा स्थानीयको रोजीरोटीमै समस्या हुन सक्छ ।’ सिजनका बेला यहाँका स्थानीयले यार्चाबाट ६० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । तर, पछिल्लो समय त्यो घट्दै गएको थियो ।-कान्तिपुर
प्रतिक्रिया लेख्नुहोस्:-