काठमाडौं : स्वदेश फर्किने जहाज टिकट तीन गुणाभन्दा बढी महँगो गराइएपछि स्वदेश फर्किने बाध्यतामा रहेका अधिकांश नेपाली कामदार दशैंसम्म उतै काम गर्ने गरी सोच परिवर्तन गर्न बाध्य हुन थालेका छन् । सरकारले नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये मुलुकमा कोटा तोकेर उडान शुरु गरेको छ ।
तर यात्रुको तुलनामा उडान कम भएको र भाडा अत्यधिक महँगो भएपछि करार अवधि सकिएका कामदार भिसा अवधि थपेर दशैंतिर स्वदेश फर्किनु बुद्धिमानी हुने सोचमा पुगेको बताउँछन् ।
हाल मलेसियाबाट नेपाल आउने जहाज टिकटको मुल्य २ हजार १ सय ४० रिंगिट करिब ६५ हजार रहेको छ । स्वदेश फर्केपछि होटल क्वारेन्टिनमा बस्न मात्र पाँच दिनको न्यूनतम १५ हजार गरी काठमाडौंसम्म मात्र ८० हजार रुपैयाँ र घर जान थप दश हजार गरी कम्तमिा एक लाख रुपैयाँ खर्च हुने देखिएको छ ।
मलेसियाबाट स्वदेश फर्किन थालेका बिरुपुन मगर भन्छन्, ‘टिकट तीन गुण महँगो पो रहेछ मेरो भिसा पनि जुलाई २५ मा सकिन्छ बरु अरु १ वर्ष थपेर दशै तिहार तिर हेर्नु पर्ला अनि छुट्टी गएपछि आउन मिल्छ कि मिल्दैन ? जानकारी पाए हुने थियो ।’
सरकारले काठमाडौंदेखि कतारको दोहा र काठमाडौं–दुबई, काठमाण्डौं क्वालालम्पुर रुटमा हप्तामा चार चार, काठमाडौं–इस्तानबुल, काठमाडौं दमाम र काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं–मस्कट काठमाडौं सउल र जापानमा एक उडान अनुमति दिएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मुल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेका छन् ।
मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थी स्वदेश फर्किनेहरुको दबाब अत्यन्तै धेरै रहेको बताउँछन् । दूतावासमा आउने मध्ये ८० प्रतिशत टेलिफोन नेपाल आउने जहाजको उडान तालिका र भाडा रकम बुझ्न हुने गरेका भन्दै सेवाग्राहीलाई सम्झाउन गाह्रो भइरहको बताउँछन् ।
मलेसियाबाट नेपाल फर्किने अधिकांश कामदारलाई कम्पनीले मालिन्दो एयरलाइन्सको टिकट दिने गरेका छन् । तर मालिन्दो एयरले नेपाल आउने अनुमति पाएको छैन । त्यसले आफुहरुलाई थप निराश बनाएको शिशिर कार्कीले बताए । उनले भने, ‘अप्रिलमा भिसा सकिएका धेरै साथीहरु अलपत्र अवस्थामा रहेका छन् । भोलि भोलि भन्दै महिनौं दिन बितिसक्यो । स्वदेश फर्किनु भन्दा यतै रोजगारी खोजनु पर्ने देखिन थालेको छ ।’-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-