साउदी अरेबियास्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकले क्वारेन्टाइन बस्दा गर्नुपर्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने गरी कूटनीतिक पहल थालेको छ ।
साउदीमा नेपाली श्रमिकले एक लाख रुपैयाँसम्म क्वारेन्टाइन खर्च बेहोर्नुपर्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि दूतावासले यस्तो खर्च श्रमिकले बेहोर्नु नपर्ने गरी कूटनीतिक पहल गरेको हो ।
साउदी सरकारले मे २० पछि साउदी अरब प्रवेश गर्ने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो । सो नियम सबै नेपालीले पालना गर्न दूतावासले जेठ ११ गते सूचना जारी गरेको थियो । सात दिनको संस्थागत क्वारेन्टाइनवापत करिब ३ हजार ५०० साउदी रियाल अर्थात् १ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बुझिएपछि दूतावासले तत्कालै साउदी सरकारसँग कुरा गरी साउदी आउने नेपाली कामदारले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । दूतावासले सोमबार साउदी अरबमा आउने कामदारको संस्थागत क्वारेन्टाइन खर्च सम्बन्धित रोजगारदाताले बेहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको जनाउँदै श्रमिकले क्वारेन्टाइन खर्च बेहोर्नु नपर्ने जानकारी गराएको छ ।
“साउदीमा संस्थागत क्वारेन्टाइनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको हुँदा छुट्टीमा घर गएर साउदी फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टाइनको खर्चका बारेमा आआफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ ।” दूतावासद्वारा सोमबार जारी सूचनामा भनिएको छ । “साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै बेहोर्ने भएकाले क्वारेन्टाइनका नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्नु हुनसमेत अनुरोध छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-