नयाँ उडान तालिका कस्तो छ?
जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ।
त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ।
त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्ने भनिएको छ।
संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुने जनाइएको छ।
साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुने र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।
ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान गर्ने भनिएको छ।
टर्कीको इस्तानबुलमा दुईवटा उडान गर्ने योजना त्यहाँको सरकारको पछिल्लो निर्णयका कारण प्रभावित नहुने अधिकारीहरू बताउँछन्।
टर्कीश एअरलाइन्सले जनाएअनुसार यात्रुहरूलाई टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरी अरू देश जान दिइने भएकाले काठमाण्डू-इस्तानबुल उडान तालिका कायमै रहनेछ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्, “हामीले उडान गर्ने भनेर अनुमति दिएका छौँ तर त्यहाँको देशले बन्द गरेको कुरालाई हामी केही गर्न सक्दैनौँ। उताबाटै उडान रोकिएको हकमा नेपाल सरकारले केही गर्न सक्ने अवस्था छैन।”
उनले थपे, “चीनले औपचारिक रूपमा नरोके पनि उनीहरूले उडान तालिका माग्दै निवेदन नै दिएको छैन। उनीहरूको सुरक्षा मापदण्ड एकदमै कठोर हुन सक्छ। दुबईले जुलाई २४ सम्म प्रवेश गर्न रोके पनि त्यहाँबाट मात्रै यात्रुहरू लिएर आउन पाउने भनेको छ। सिङ्गापुरले उडानका लागि प्रयास गरेको छैन।”-बिबिसी नेपाली
प्रतिक्रिया लेख्नुहोस्:-