सौराहा जेठ १७ गते । अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका वस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुवानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका वासिन्दाको उद्धार भैसकेको जनाइएको छ ।
सौराहा हँुदै बगेका राप्ती, बुढी राप्ती, ढुँग्रे लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दा सौराहामा जोखिम बढेको हो । खोलाहरुमा पानीको सतह बढ्दै गएसँगै सौराहाका होटलहरुल भूइँतलामा रहेका समान अहिले सुरक्षित गर्नेतर्फ लागेका क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।
”अहिले हामी हाम्रा समान डुवानबाट कसरी वचाउन सकिन्छ भन्ने सर्तकता अपनाउँदै समानहरु सुरक्षित ठाउँमा सार्ने काम गरि रहेका छौ”, उहाँले भन्नुभयो, “यदि डुवान भै हालेमा उद्धारकालागि नेपाली सेनाले डुङ्गा सहितकोे जनशक्ति तयारी अवस्थामा राखेको छ ।”
सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यस्तै राप्ती नदी तटमा रहेका मेघौली, जगतपुर र पटिहानीका होटलहरु पनि अहिले डुवानको जोखिममा छन् । नारायणी नदी तटमा रहेका नाराणगढ, गैडाकोट देखि शिवघाट, मेघौली सम्मका नदी तटीय क्षेत्रका होटल तथा वस्तिहरु पनि डुवानको जोखिममा छन् ।
चितवनमा पछिल्लो तीनदिन देखि अविरले पानी परि रहेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहाँ फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरिक्षक ईन्द्र रानाले बताउनुभयो ।
यस्तै, रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको पनि स्थानीयले उद्धार गरेका छन् ।
अहिलो पूर्वी चितवनका प्रायः सबै खोलाको सतह वढेकाले जोखिम वढी छ । पूर्व पश्चिम राजमार्ग पनि अहिले ठाँडा खोलामा आएका बाढीका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पूर्वी चितवनमा रहेका कयर, लदरी लगायतका खोलाको सतह वढ्दा रत्ननगर, खैरहानी लगायतका वस्तिहरु पनि डुवानको जोखिममा छन् ।
भरतपुर महानगर पालिकाकै वडा नम्वर २ मा रहेको तरकारी तथा फलफूल मण्डी पनि पुङ्गी खोलाको डुवानमा परेको छ ।
उता, पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक खुला गर्न वर्षाले समस्या परेको छ । गएरातीवाट अवरुद्ध भएको सडक खुला गर्न उपकरण सहितका प्राविधिक टोली परिचालन भएपनि वर्षादले पहिरो झरि रहेकाले सडक तत्काल खुला गर्न सकिने अवस्था छैन ।
ईच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो छ भने अन्य ठाउँ ठाउँमा पहिरो खस्दा गए राती २ः१० वजेवाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी उपरिक्षक सूर्यवहादुर थापाले जानकारी दिनुभयो ।
“अविरल वर्षाका कारण गएराती २ः१० वजेदेखि नारायणगढ मुग्लिन सडक अवरुद्ध छ”, थापाले भन्नुभयो, “वर्षा लगातार जारी रहेकाले पनि पहिरो झरि रहँदा अहिले सडक सफा गर्न कठिनाइ भैरहेको छ ।” पाँच किलो, चारकिलो लगायत अन्य विभिन्न स्थानमा अहिले पहिरो झर्ने क्रम जारी छ । यद्यपी डोजर तथा लोडर प्रयोग गरेर पहिरो हटाउने प्रयाश भने जारी रहेको पनि उहाँले जनाउनुभयो ।-गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-