काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संक्षिप्त कार्यक्रम गरी संघको ३० औं वार्षिकोत्सव मनाएको छ । संघको कार्यालय बत्तिसपुतलीमा बिहीबार आयोजित संक्षिप्त कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाइएको थियो ।
संघका कार्यवाहक अध्यक्ष कमल तामाङको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा संघलाई छाता संस्था मान्ने विभिन्न घटक संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गुरु बराल, विराटनगर महानगरपालिकका मेयर भीम पराजुली लगायतले वैदेशिक रोजगारको सुधारका लागि संघले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । मेयर पराजुलीले वैदेशिक रोजगारका बारेमा नेपाली समाजमा फरक–फरक दृष्टिकोण र कतिपयले नकारात्मक धारणा राख्ने गरेको भन्दै त्यसलाई परिवर्तन गर्न संघका तर्फबाट पहल हुनुपर्ने माग गरे ।
संघका पूर्व अध्यक्ष तिलक बहादुर रानाभाटले संघ स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै वैदेशिक रोजगारले नेपाली समाजमा दिएको सकारात्मक योगदानको चर्चा गरिनुपर्ने धारणा राखे । वैदेशिक रोजगारले दिएको योगदानलाई स्वागत गर्ने तर वैदेशिक रोजगार व्यवसाय र व्यवसायीहरुलाई भने नकारात्मक दृष्टिकोण राख्ने गरिएको उनको भनाइ थियो । उनले भने, ‘बोट नराम्रो तर त्यसले दिएको फल भने राम्रो ठान्ने गरिएको छ । बोट नराम्रो भए फल कसरी राम्रो भयो ? त्यसैले संघमार्फत व्यवसायी र व्यवसायका बारेमा समाजमा रहेको गलत धारण चिर्ने प्रयास हामीबाट हुनुपर्छ ।’
संघका कार्यवाहक अध्यक्ष तामाङले सरकारले चाहेर पनि वैदेशिक रोजगार क्षेत्रलाई बन्द गर्न नसक्ने भएकाले देखिएका कमजोरी सुधार गरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग गरे ।
कार्यक्रम सञ्चालन गरेका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरुको सामूहिक एकताबाट समस्याको समाधान गरिनुपर्ने भन्दै संघका स्वर्गीय अध्यक्ष विष्णुप्रसाद गैरेले आफ्नो कार्यकालमा सुधारका लागि अघि बढाएका एजेण्डाहरुलाई संघले पूरा गर्नुपर्ने जिम्मेवारी रहेकोले त्यसमा कार्यसमिति केन्द्रित हुने बताए ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-