५ लाख ऋण लिएर गरेको लगानी अहिले करोड नाघिसक्यो
सामान्यतया हामीले किनेर खाने च्याउ दुई खालका हुन्छन्- कन्ने (पत्ते) र गोब्रे (डल्ले)। गाउँघरमा विषालु च्याउ खाएर बिमारी र मृत्यु भएका सुनिरहेका हामी अन्य च्याउबारे हत्तपत्त सोच्दैनौं पनि।
तर नडराउनुहोस्। पत्ते र डल्लेबाहेक अरू केही प्रजातिका च्याउ पनि खान मिल्ने हुन्छन्। भक्तपुर थिमी–७ नगदेशका आकाश बाडेले विभिन्नथरि खाद्य च्याउ उत्पादन गर्दै आएका छन्।
आकाशले एघार रोपनी जग्गामा कन्ने, गोब्रेसहित सिताके, ग्यानोदर्मा (रातो च्याउ), कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिकियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके र ‘किङ ओएस्टर’ जातका च्याउ उत्पादन गर्छन्। यसमध्ये उनले केहीको व्यवसायिक खेती गरिरहेका छन् भने केहीको अनुसन्धान भइरहेको छ। कुनै च्याउ औषधिका रूपमा मात्रै खान मिल्ने पनि हुन्छ।
‘कन्ने, गोब्रे, सिताके र रातो च्याउको व्यवसायिक खेती गरेको छु,’ ४१ वर्षीय आकाशले भने, ‘अन्य च्याउ भने अनुसन्धानका लागि थोरै परिमाणमा लगाएको छु।’
आकाशले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा च्याउ अनुसन्धान गर्दै आएका छन्। उनी के–के च्याउ पाइन्छ, कसरी उत्पादन गर्ने, के–के प्रविधि आवश्यक हुन्छ भन्नेबारे अध्ययन गर्छन्।
आकाश सानै उमेरदेखि खेती-किसानीमा सक्रिय भएका हुन्। उनको नौ जनाको परिवार धान्ने मुख्य स्रोत कृषि नै थियो। दाइदिदीको आ-आफ्नै व्यवहार सुरू भएपछि घरमा उनी, एउटी दिदी र बाआमा भए। त्यो बेलादेखि नै उनी किताबबाट फुर्सद निकालेर खेतबारी जान थाले।

‘सानामा आमासँगै कुटो बोकेर बारी जान्थेँ, पछि कामै त्यही भयो,’ उनी बिहानभर खेतबारीको काम गर्थे, दिउँसो स्कुल। फर्केर तरकारी बेच्न जान्थे। घरको आवश्यकता कृषिले धान्दै गएपछि उनले यसमै भविष्य देख्न थालिसकेका थिए।
एकदिन शिक्षकले कक्षामा सोधेका थिए- भविष्यमा के बन्ने इच्छा छ?
साथीहरूले इञ्जिनियर, डाक्टर, पाइलट, नर्स बन्छु भन्दा आकाशले किसान बन्ने सुनाए।
उनको उत्तर सुनेर सबै अचम्म परे।
‘कृषि अशिक्षित मान्छेले गर्ने पेसा मानिन्थ्यो। मैले किसान बन्छु भन्दा उसो त किन पढ्नुपर्यो भनेर सबैले अचम्म मानेर मलाई हेरिरहे,’ आकाश सम्झिन्छन्। अरूका कुराले उनी पछि हटेनन्। २०५६ सालमा एसएलसी दिएपछि कृषि विषय पढ्न चाहन्थे। त्यतिबेला अहिलेजस्तो कृषि पढाउने शैक्षिक संस्था धेरै नभएकाले चितवन, रामपुर कलेज नै जानुपर्थ्यो।
बाआमाले घरबाट टाढा नजान भने। उनी नजिकैको ख्वप कलेजमा व्यवस्थापन पढ्न भर्ना भए, ‘त्यतिखेर माओवादी आन्दोलन एकदमै चर्केको थियो। त्यसैले बाआमाले उता जान दिनुभएन। यता कृषि पढ्ने कलेज थाहाभएको भए पढ्थेँ।’
कृषिका विषयगत अक्षरसँग खेल्न नपाए पनि आकाशले खेतबारीका बोटबिरूवाबाट सिक्न छाडेनन्। उनले सबैजसो मौसमी खेतीपाती लगाएका थिए। दिदीले सघाउँथिन्। खेतीमा अझै केही गरौं भन्ने लागिरहन्थ्यो र पाएका मौका छाड्थेनन्। गाजर व्यवसाय फस्टाएका बेला उनी आफ्नो खेतका र अरूका पनि गाजर संकलन गर्थे। कालिमाटीमा स्टल भाडा लिएर बेच्थे।
यो २०५८ सालको कुरा हो। जनगणना हुने साल। उनका दाइ तथ्यांक विभागका जागिरे भएकाले उनले पनि गणकको काम पाए। तर दुई महिना काम गरेपछि उनलाई महशुस भयो- जागिरमा मेरो मन छैन।
.jpg?resize=1200%2C586&ssl=1)
यसपछि उनी अझ सक्रिय भएर खेतीमा लागे। प्रांगारिक खेतीको महत्व बुझेका उनले मुलपानीमा दस रोपनी जग्गा भाडा लिएर गाजर खेती सुरू गरे।
‘वरिपरि सबै विषादी हालेर खेती गरिने भएकाले प्रांगारिक गाजर उत्पादन हुन सकेन,’ उनले सुनाए, ‘उत्पादन भएको पनि पाँच रूपैयाँ महँगोमा बेच्नुपर्यो, ग्राहकले किनेनन्।’
सोचेजस्तो आम्दानी नभएपछि गाजर खेतीबाट उनको जाँगर मर्यो। चार–पाँच महिना छटपटिए। पानीदेखि चाउचाउ उद्योगसम्म खोल्ने सोचे। तर कृषिभन्दा पर जान कसैगरी मन भएन। त्यसैले बजारमा गाजर नबिके पनि जुस, वाइन बनाउने सोचे।
‘उपत्यकामा वाइन उद्योग खोल्न नपाइने रहेछ। बाहिर जानुपर्छ भनेपछि फेरि आमाबुबाले मान्नुभएन,’ उनले भने। काममा बाधा आइरहेपछि आकाशले प्रांगारिक रूपमै अरू केही उत्पादन गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थाले।
यही क्रममा उनले भक्तपुरका जंगल, पराल, काठमा च्याउ उम्रेको देखे। यसलाई विषादी नचाहिने थाहा पाएपछि च्याउ खेतीको योजना बनाए। त्यो बेला च्याउको अहिलेजस्तो बजार थिएन। उपभोक्ता च्याउ खान ढुक्क पनि हुन्थेनन्। त्यसैले घरमा मन्जुरी पाएनन्। तर पखेटा लागेको चरीलाई कसले रोक्न सक्थ्यो र!
अलिअलि कमाएको पैसा गाजरमा डुबाएकाले लगानी भने थिएन। सहकारीबाट पाँच लाख ऋण लिए। सानो थिमी र बोडेमा ठूलो बाटो भएको जग्गा भाडा लिए। सुरूमा चार वटा टनेलमा पत्ते च्याउ लाए। तर यसले पनि उनलाई उकालो लगाएन।
.jpg?resize=1200%2C601&ssl=1)
‘खेती गर्ने तरिका नजानेर उत्पादन नै भएन। ढुसी आउने, कीरा लाग्ने भयो। दुई वर्ष घाटामा गएँ,’ उनले भने।
सहकारीको पाँच लाख ऋण ब्याज तिर्न नसकेर नौ लाख पुग्यो। तर उनी आत्तिएनन्। बरू टनेल थपेर च्याउ खेती गरिरहे।
‘घाटा लाग्यो भने मान्छेहरू छाड्छन्। मैले अझै बढाएर गरेको देखेर कतिले मलाई पागलै भएछ भन्थे,’ उनले सुनाए, ‘मलाई उत्पादन भएन भन्दा पनि के कारणले भएन भन्ने चिन्ता थियो। त्यो थाहा पाउन चाहन्थेँ।’
यसबारे खोजबिन गरिरहँदा उनले थाहा पाए- बिऊ राम्रो परेनछ।
अनि एक कृषि वैज्ञानिकसँग च्याउको बिऊ बनाउने तालिम लिए। आफैं बिऊ उत्पादन गर्न थाले। लगातारको मेहनतले तेस्रो वर्षदेखि नाफा हुन थाल्यो। आवश्यकता अनुसार कामदार थप्दै गए। ऋण पनि तिरे। त्यसपछि भने ऋण लिन नपरेको उनी बताउँछन्।
०७१ सालमा उनीसहित तीन जना मिलेर मध्यपुर थिमी, चारदोबाटोमा बिऊ उत्पादन गर्ने प्रयोगशाला खोले- मसरूम सीड नेपाल एन्ड रिसर्च सेन्टर प्रालि।
सुरूमा उनीहरूले पत्ते च्याउको बिऊ बनाए। दुई वर्षपछि साथीहरूले छाडे। त्यसयता उनी एक्लैले काम सम्हालिरहेका छन्, ‘भारत गएर विभिन्न प्रजातिका च्याउबारे बुझेँ। अनि आफ्नै हिसाबमा अनुसन्धान थालेर बिऊ बनाउन थालेँ।’
अनुसन्धानकै क्रममा एकदिन उनको भेट नास्टका वैज्ञानिकसँग भयो। उनले मिलेर अनुसन्धान गरौं भने। २०७७ साउनमा नास्टसँग सम्झौता भएअनुसार उनीहरू अहिले रातो च्याउ खेती र उत्पादन वृद्धिबारे अनुसन्धान गरिरहेका छन्। उक्त अनुसन्धानको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुने क्रममा रहेको आकाशले जानकारी दिए।
.jpg?resize=1200%2C720&ssl=1)
‘यार्सागुम्बा च्याउ उत्पादन गर्न सफल भयौं। गुच्छी, देवले र लेटिपोरस सल्फेरस च्याउका लागि नास्टसँगको सहकार्यमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘रातो च्याउ भने निर्यात गर्ने योजना छ। केही देशमा थोरै परिमाणमा बिक्री समेत गर्यौं, तर त्यो चिनजानका आधारमा गइरहेको हो।’
अध्ययनका लागि उनीहरू सूर्यविनायक, फूलचोकी जंगलबाट च्याउ संकलन गर्छन्। संकलितमध्ये खान मिल्ने च्याउको बिऊ उत्पादन गर्छन्।
आकाशले पाँच लाख ऋण लिएर सुरू गरेको व्यवसायमा अहिले एक करोडभन्दा बढी लगानी भइसक्यो। ४४ वटा टनेलमा च्याउ लगाएका छन्। १८ वटामा उनी एक्लैको लगानी छ भने बाँकी २६ वटामा दुई जनासँग साझेदारी हो। २३ जना उनको फार्ममा काम गर्छन्।
च्याउ बेच्न बजार जान पर्दैन, फार्ममै किन्न आउनेको भिड हुन्छ। त्यस्तै कृषि विद्यार्थी पनि उनको फार्म अवलोकनमा आइरहेका हुन्छन्।
‘कुनै बेला मलाई पागल भन्नेहरू अहिले मेरो काम देखेर चित खान्छन्,’ उनी भन्छन्, ‘म पनि च्याउको नशामा डुबे जसरी काम गरिरहेको छु।’-सेतोपाटि



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-