२१ असार, काठमाडौं । चालु आर्थिक वर्षको बजेटले घोषणागरे अनुसार नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा बहस शुरु गरिएको छ । नेपाल सरकारले निगमको नेतृत्वलाई निगमलाई कम्पनी मोडलमा चलाउने सम्बन्धमा आवश्यक प्रवन्धपत्र नियमावलीको ढाँचा माग गरेको थियो ।
सोही अनुसार निगम व्यवस्थापनले मन्त्रालयमा ढाँचा उपलब्ध गराएको छ । यससँगै अब निगममा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा बहस शुरु भएको निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलले बताए ।
‘हामीले प्रवन्धपत्रको प्रस्तावित ढाँचा मन्त्रालयमा बुझाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘निकै लामो प्रक्रियाको बहस यहाँबाट शुरु भएको छ ।’
निगमको व्यवस्थापन सुधारका सम्बन्धमा करीव एक दर्जन भन्दा बढी समितिले अध्ययन गरि प्रतिवेदन दिइसकेका छन् । ती प्रतिवेदनको समेत अध्ययन गरी तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ साल असोजमा निगमका वर्तमान अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा सझुाव समिति गठन गरेका थिए ।
यो समितिमा निगमका वर्तमान महाप्रवन्धक समेत सदस्य थिए । यो समितिले दिएको सेयर संरचनासम्बन्धी सुझावका आधारमा प्रवन्धपत्रको नियमावलीको ढाँचा तयारी पारी सरकारलाई बुझाइएको महाप्रवन्धक पौडेलले जानकारी दिए । उनका अनुसार ढाँचामा निगममा रणनीतिक साझेदार भित्राउने र सो प्रयोजनका लागि सरकारको बहुमत सेयर रहने गरि सेयर बाँडफाँटको प्रस्ताव गरिएको छ ।
यसअघिको सुझाव समितिले दिएकै सुझावका आधारमा नियमावलीमा समेत प्रस्ताव गरिएको महाप्रवन्धक पौडेलले बताए । यसअघि सुझाव समितिले नेपाल सरकार (कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बीमा समूह र अन्य इच्छुक र सक्षम सार्वजनिक संस्था)को ५१ प्रतिशत सेयर हिस्सा रहने गरि लगानी संरचनाको प्रस्ताव गरिएको थियो ।
कम्पनीको अधिकृत पुँजी २ सय अर्ब पुर्याउने र त्यसमा विदेशी साझेदार वा नेपाली लगानीकर्ता, नेपाल एयरलाइन्सका वर्तमान तथा भुपूकर्मचारी, निजामती कर्मचारी, पर्यटन व्यवसायी र संघसंस्था तथा सर्वसाधारण लगानीकर्तासम्मलाई लगानी गर्न सक्ने गरी लगानी संरचनाको सुझाव समितिले दिएको थियो । यसै समितिको सुझावलाई समेटेर निगमले प्रवन्धपत्र नियमावलीको ढाँचा बनाई मन्त्रालयका प्रस्ताव गरिएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।
आगामी बजेटले के भनेको छ ?
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले नेपाल वायुसेवा निगमको पुनसर्ंरचना गरि व्यवसायिक एवमः प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ । त्यसका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्राउने प्रक्रिया शुरु गरिने छ । निगमको सेयर पूँजि संरचना परिवर्तन गरि वृद्धि गरिनेछ ।
अब के हुन्छ ?
महाप्रवन्धक पौडेलका अनुसार सरकारले माग गरे अनुसारको प्रस्तावमा नियमावलीको ढाँचा पठाएसँगै अब सरकारले यस प्रस्तावबारे व्यापक छलफल गराउँछ । रणनीतिक साझेदारी ल्याउन सक्ने अनेक मोडालिटीमा छलफल भई ठोस प्रस्ताव बन्छ ।
उनी भन्छन्, ‘नेपाल सरकारको निर्णय नै निगमका लागि सर्वमान्य हुन्छन् ।’ तर, अहिले भने अहिले निगमलाई कम्पनी मोडलमा लैजाने वा निगमको निजीकरण गर्ने गरी कुनै निर्णय भने नभएको स्पष्ट पारे ।
कर्मचारी भने आन्दोलिन
निगमले रणनीतिक साझेदारी सम्बन्धी प्रस्ताव मन्त्रालयमा बुझाएपछि निगमका कर्मचारी भने आन्दोलित बनेका छन् । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजान नहुने र निगमलाई सार्वजनिक संस्थान कै रुपमा अस्तित्व कायम राख्नु पर्ने माग गरेका छन् । सोही अनुसार गत शुक्रबारदेखि निगमको महाप्रवन्धक र निर्देशकहरुको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन् ।
निगमकी प्रवक्ता करिष्मा श्रेष्ठले निगमलाई सार्वजनिक संस्थानकै अस्तित्वमा कायम राख्नु पर्ने कर्मचारीको माग रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘सार्वजनिक संस्थानका रुपमा निगमको अस्तित्व मेट्न पाइदैन, निगम बचाउनु पर्छ र यसको संरचना पुनसंरचना गर्ने क्रममा अनेक विकल्पमा छलफल गर्नुपर्ने कर्मचारीको माग छ ।’ सोही अनुसार संवादको वातावरण समेत बन्दै गएको उनले जानकारी दिइन् ।-अनलाईन खबर
पछिल्लो प्रक्रियाबारे महाप्रवन्धक डीमप्रकाश पौडेलको स्पष्टीकरण
नेपाल सरकारले बजेट मार्फत नेपाल वायुसेवा निगमको संगठन सुधार गर्ने भनि गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा संन्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढांचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार संचालक समितिले एक उपसमिति बनाई सो उपसमितिले तयार गरेको रणनैतिक साझेदार सहितको ढांचा हुबहु मन्त्रालयमा पेश गरेको हो ।
यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होईन र यो निगम निजिकरण गर्ने निर्णय पनि होईन । संचालक समितिले पनि कुनै निर्णय गरेको पनि छैन । सन्चालक समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले नेपाल सरकार को निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन् ।
मेरो ब्यक्तिगत धारणाको बारेमा धेरै साथिहरुको जिज्ञासा रहने भएकोले सो बिषय पनि स्पष्ट पार्नु जरुरी देखेको छु । मेरो बिचारमा निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न सक्दैन । धेरै बिकल्प मध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हो ।
तर, अहिलेको जस्तो न्युनपूँंजी र अत्यधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुदैन । पहिला कर्जा तिर्नुपर्छ सम्पत्ति थप गर्नु पर्छ, पर्याप्त सेयरपुँजी बनाउनु पर्छ । रणनैतिक योजना बनाउनु पर्छ अनि मात्र कम्पनी मोडलमा जानु पर्छ । नेपाली श्रम सिप र योग्यताको विकासका लागि सुरुका केही बर्षमा विदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपछ । यथार्थपरक व्याख्या गरौं, आफु अनुकुल व्याख्या गरेर संस्था, मन्त्रालय र सरकारको खिल्ली उडाउन छोडौं ।












प्रतिक्रिया लेख्नुहोस्:-