काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि कतार जाने नेपाली कामदारलाई पारदर्शी र सहज रूपमा सेवा नदिएको भन्दै नेपालमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) खारेजीको माग गरेकोे छ । कामदारको सुविधा बढाउने भन्दै दुई बर्षअघि नेपालमा कतार भिसा सेन्टर खालिएको भएपनि पछिल्ला दिनमा उक्त सेन्टर नेपालका घरानिया भनिने सिमित व्यवसायीको सेटिङमा चल्न थालेको आरोपसहित संघले उक्त माग गरेको हो ।
मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले २० औं वर्षदेखि कतारमा नेपाली कामदार सहजरूपमा गइरहेको अवस्थामा क्यूभीसीको स्थापना भएपछि भने परम्परागत रुपमा जाने प्रक्रियामा नै समस्या शुरू भएको दावी गरे । नेपालमा भिसा सेन्टर स्थापना गर्दा सजिलोसँग भिसा प्रक्रिया पूरा हुने र विपन्न अवस्थाका नेपाली कामदारले राहत पाउने भनिएकोमा पछिल्ला दिनहरुका समस्या बढेको भन्दै कार्यवाहक अध्यक्ष तामाङले क्यूभीसी काठमाण्डौमा मात्र रहनु संघीयताको मर्म समेत विपरीत रहेको बताए ।
उनले भने, ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा प्रदेशबाट श्रम स्वीकृति दिँदा क्यूभीसीले राजधानीमा त्यो पनि एउटामात्र कार्यालय राखेर कामदारलाई जानीबुझी झन्झट र हैरानी दिएको छ । मेडिकल अनफिट भएपछि आजको भोलि नै मेडिकल गरिदिनु पर्नेमा बेखर्ची अवस्थाको कामदारले तीस दिन कुर्नुपर्छ । परिवार पाल्ने सपना देखेर वैदेशिक रोजगारमा जान काठमाडौं आएको कामदारको सपना भिसा सेन्टरमा पुग्दासम्म तुहिने अवस्था उत्पन्न भएको छ । त्यसलै हामी विरोधमा उत्रिएका हौं ।’
क्यूभीसीले सीमित व्यवसायीले मात्र पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरेको आरोपसमेत संघले लगाएको छ । कार्यालय समयमा प्रणाली नखुल्दा प्रणालीमा पहुँच पाउन अत्यन्तै कठिनाई र सास्ती झेल्नुपरेको बताउँदै पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष तामाङले क्यूभीसीसँग संघले गरेको छलफलमा सेवा सहज पार्ने प्रतिवद्धता जनाए पनि सेवा प्रवाहमा मिलेमतो गरी सीमित व्यवसायीलाई मात्र सूचना दिएर खोल्ने र बन्द गर्ने गरिएको भन्दै त्यसले व्यवसायीहरुलाई आक्रोशित पारेको बताए ।
क्यूभीसीमा मेडिकल गरी भिसा प्रक्रिया गर्न अनलाइन प्रणालीबाट एप्वाइन्टमेन्ट लिनुपर्छ । व्यवस्थापनको समस्या देखाएर दैनिक चारसय जनाको एप्वाइन्टमेन्ट दिने र अनुचित सेटिङ गरेर पहुँच भएकाहरूका सात सय जनाको मेडिकल गरिदिने गरिएको आरोप लगाउँदै कावा अध्यक्ष तामाङले क्यूभीसीकै कारण हाल कतारबाट आउने डिमाण्ड अनुसार भिसा प्रक्रिया हुन नसकेको बताए । उनले कतारबाट डेढलाख डिमाण्ड आउँने तर क्यूभीसीको हालको क्षमताले वर्षभरिमा ८० हजारको मात्र मेडिकल गर्न सक्ने भन्दै क्यूभीसीले हाल पु¥याइ रहेको र भविष्यमा पु¥याउन सक्ने क्षतिको सम्बन्धमा नेपाल सरकारले नै छानविन गर्नुपर्ने माग गरे ।
संघका पुर्व अध्यक्ष विमल ढकालले नेपालमा क्यूभीसीको स्थापनाको शुरूवात नै विवादास्पद तरिकाले भएको र तत्कालीन मन्त्री गोकर्ण विष्टले नमानेपछि सरकारको माथिल्लो निकायबाट लागू गराएको भन्दै क्यूभीसीले राम्रो काम नगरेको दाबी गरे । ढकालले भने, ‘हाल कामदारलाई समस्या र केही व्यवसायीको फाइदा हुने गरी अनुचित साँठगाँठ गरेर सिण्डिकेट खडा गरिएको छ । त्यही कारणले हामी सडकमा आउन बाध्य भएका छौं । सेवा प्रवाह गर्न नसक्ने संस्थाको काम छैन ।’
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन अध्यक्ष नरेन्द्र प्रसाद ढकालले पटकपटक छलफल र सुधारको प्रयास गर्दा पनि सुधार नभएकोले पत्रकार सम्मेलन गरेर विरोध गर्न बाध्य भएको भन्दै क्यूभीसीले सहजरूपमा सेवा नदिएपछि कतारका रोजगारदाता अफ्रिकी मुलुकतर्फ आकर्षित भएको बताए । उनले भने, ‘अफ्रिकी मुलुकमा क्यूभीसीको बाध्यता नभएको कारणबाट त्यहाँबाट रोजगारीमा कतार जान सहज छ, अफ्रिकी मुलुकमा क्यूभीसी छैन, नेपालमा भिसा प्रक्रियाका लागि एक महिना कुर्नुपर्छ, मेडिकल असफल भए अर्को एक महिना कुर्नुपर्छ । त्यसैले सेवा प्रवाहमा सुधार नगर्ने हो भने कतार भिसा तत्काल बन्द गर्नुपर्छ ।’
एसोसिएसनका बरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल क्यूभीसीले तालुकवाला मन्त्रालयलाई बाइपास मात्र गरेको नभई कम्पनी रजिष्ट्रारको कार्यालयबाट इजाजत लिँदा स्वीकृत प्रवन्धपत्र र नियमावली विपरीत काम गरिरहेको दाबी गरे । अर्यालले भने, ‘क्यूभीसी स्थापनाको केही समय उसले प्रदान गरेको सेवा ठिकै थियोे । तर एक वर्षयता सिण्डिकेट संस्थागत गरिएकाले सेवा सहज हुन सकेन त्यसैले विरोध गर्न बाध्य भएका हौं । वैदेशिक रोजगार मुलुकको अर्थतन्त्रको आधार बनिरहेको अवस्थामा कामदार र व्यवसायीहरुलाई सास्ती दिने काम भएको छ ।’
उनले थपे, ‘व्यवसायीले थाहा नपाउने गरी मध्यरातमा एप्लिकेसन खुलाउने, एक सयको एप्वाइन्टमेन्ट दिएर सात सयको मेडिकल गराउने गरिएको कारण निशेधाज्ञाका बीचमा नेपालका दुर्गम भागबाट तरकारीको गाडीमा झुन्डिएर आएका कामदारले स्वास्थ्य परीक्षण गर्न पाएनन् । क्यूभीसी नामको चरम सिण्डिकेट स्वीकार्न सकिँदैन । भारत र अन्य देशमा २४ सै घण्टा कार्यालय खुला गरेर सेवा दिन सकिने तर नेपालमा त्यस्तो सेवा दिन नचाहनु नेपालप्रतिको हेपाहा प्रवृत्ति समेत हो ।’
पत्रकार सम्मेलनमा स्वागत मन्तव्यमा राख्दै संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लल सबै पक्षबाट व्यवसायीलाई घेराबन्दी गर्न थालिएको भन्दै प्रतिरोध गर्नुपर्ने बाध्यता आइलागेको भन्दै यस विषयमा नेपाल सरकारले समेत ध्यान दिनुपर्ने माग गरे । कार्यक्रम सञ्चालन संघका सचिव मेघनाथ भुर्तेलले गरेका थिए । संघले भिसा अवधि सकिन लागेका र अन्य समस्या समाधानका लागि क्यूभीसीमा हेल्थ डेक्सको स्थापना हुनुपर्ने, क्यूभीसीको क्षमता विस्तार गरिनुपर्ने, पुनः स्वास्थ्य परीक्षण गर्नु पर्नेको हकमा एक हप्ता भित्रै गरिनुपर्ने, भारत, पाकिस्तानमा जस्तै नेपालमा पनि २४ सै घण्टा सेवा प्रदान गरी संघमार्फत पठाएको लिष्टको आधारमा नभई व्यवसायीले पठाएको लिष्टको आधारमा क्यूभीसी गरिनुपर्ने माग गर्दै आएको छ ।-मध्यान्ह












प्रतिक्रिया लेख्नुहोस्:-