दोहा, कतार : विदेशीको क्वारेन्टिन सम्बन्धी नयाँ नियम लागू गरेकोे कतारले पारिवारिक र पर्यटक भिसा भने जारी गर्ने भएको छ । कतारले केही दिनअघि जारी गरेको विदेशीको कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि पारिवारिक र पर्यटक भिसा जारी गर्ने बताएको छ । कतारले सोमबारदेखि नै लागू हुने गरी कतार प्रवेशमा नयाँ नियम लागू गर्ने घोषणा गत हप्ता गरिसकेको छ ।
कतारमा सोमबार अर्थात् १२ जुलाई २०२१ बाट लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम लगाइएको छ । जसअनुसार कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु नपर्ने गरिएको छ । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपले मान्यता पाएका छन् ।
कतारले पछिल्लो ९ महिनाको अन्तरालमा कोरोना संक्रमण भएकाले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि होटेल क्वारेन्टिन बस्नु नपर्ने बताएको छ । सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजना सँगै यात्रा गर्दा अभिभावकले कतारमा मान्यता प्राप्त खोपको दुवै डोज लगाइसकेको भए बच्चा पनि भ्याक्सिनेट मानिने निर्णय छ ।
तर कतारमा मान्यता प्राप्त नभएको सिनोफर्म, भेरोसेल, कोभिसिल्ड आदि खोप लगाइसकेको भएपनि १० दिन होटल क्वारेन्टिन भने बस्नुपर्ने छ ।
नेपाललाई कतारले हालसम्म पनि खतराको उच्च जोखिम मानिने ‘रेड जोन’को सुचीमा राखेको छ । खतरा कम रहेका ‘ग्रीन जोन’मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर आएको प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति दिइने व्यवस्था गरिएको छ ।
ग्रीन र एल्लो जोनको सूचीमा रहेका देशहरूबाट जानेहरुको भने विमानस्थलमा पीसीआर गर्नुपर्ने छैन । रेडजोनको सूचीमा रहेका मुलुकहरुबाट कतार गएपछि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्यरुपमा पीसीआर टेष्ट गर्नुपर्नेछ । तर नेपालबाट कतार जाँदा १२ घण्टा अगाडि ehteraz.gov.qa मा आफ्नो यात्रा विवरण अनिवार्य रजिस्टर गर्नुपर्ने छ ।
कतारमा अनिवार्य गरिएको क्वारेन्टिन बसाइबाट बच्न कतार जानेले कतारमा मान्यता खोपको दुवै डोज लिनु बुद्धिमानी हुने कतार विज्ञ एवं राष्ट्रिय मानव अधिकार समिति कतारमा कार्यरत प्रो रमजान अली मियाँले बताए । कतारमा मान्यता नपाएको खोपको एक अथवा दुवै डोज लगाएको र खोप लगाएको १४ दिन नबितेको अवस्थामा पनि कतारमा क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा मान्यताप्राप्त खोप नलगाएको भए ग्रीन जोनबाट गएको भए ५ दिन, एल्लो जोनबाट ७ दिन, रेड जोनबाट गएको भए १० दिन होटेल क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको छ ।
खोप नलगाई कतार जाने ४ वर्षदेखि १७ वर्षसम्म किशोरहरुले खोप लगाएको अभिभावक मध्ये १ जनासँगै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ भने गर्भवती, स्तनपान गराइ रहेकी आमा, ७५ वर्ष वा सोभन्दा बढी उमेरकाहरुले खोप लगाएको १४ दिन नभएको भए ५ दिन होम क्वारेन्टिन बस्नुपर्ने छ । कतार प्रवेश गर्दा सबै यात्रुले ७२ घण्टा अगाडिको आरटी पीसीआर भने सबैको लागि अनिवार्य नै रहेको प्रो. मियाँले मध्यान्हलाई जानकारी दिए ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-