काठमाडौं : विदेशी भूमिमा रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सलाई ठूलो उपलब्धिको रुपमा चर्चा गर्ने सरकारले वैदशिक रोजगारमा जाने कामदारहरुलाई कोरोना भाइरसविरुद्धको खोपमा भने दुःख दिने नियत राखेको देखिएको छ ।
अमेरिकाले नेपाललाई सहयोग स्वरुप दिएको जोन्सन एण्ड जोनसन खोपको एक डोज लगाएर वैदेशिका रोजगारमा पठाउनु पर्ने कामदारलाई पहिलो डोज खोप लगाएको कम्तिमा चार हप्ता अर्थात एक महिनापछि दोश्रो भेरोसेल खोप दिने सरकारी तयारीले नेपाल सरकार वैदेशिक रोजगारको योगदानप्रति अनुदार रहको कतिपयले टिप्प्णी गरेका छन् ।
सरकारले सोमबार कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएका देशमा नेपालबाट वैदेशिक रोजगारीमा कामदाररुलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसन खोप दिनुको बदला एक महिनाको अन्तरमा दुई डोज दिनुपर्ने भेरोसेल खोप लगाउने निर्णय गरेको थियो । उक्त निणर्यले एक महिना कुर्नुपर्दा विदेशमा रोजगारी गुम्ने धेरैको डर छ । हाल खोपको पर्खाईमा रहेका पर्वतका नवराज पाण्डे भन्छन्, ‘खोप लगाउने बाध्यताले रोजगार गुमाउने अवस्थामा छ । खोप लगाउँ कि नलगाउँ दोधारमा छु ।’
मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएका कतार, कुवेत, साउदी अरबले नेपालीलाई प्रवेशमा कडाइ गर्र्ने सम्भावना देखिएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले अहिलको अवस्थामा भेरोसेल खोप पाउनु नै ठूलो उपलब्धि भन्दै अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप मागको तुलनामा थोरै भएकोले वैदेशिक रोजगारीमा जाने कामदारलाई चाहेर पनि दिन नसकिएको बताउँछन् ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-