काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले कोारेना भाइरस (कोभिड–१९) संक्रमणको लामो दुश्प्रभावले मर्माहत बनाएको वैदेशिक रोजगारका समस्या समाधान गर्न आफुले नवनिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष शुक्ष्मरुपमा राख्ने आश्वासन दिएका छन् ।
पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आइतबार राजधानीमा आयोजना गरेको वार्षिक क्यालेण्डर विमोचान तथा बधाई एवं शुभकामना कार्यक्रमका प्रमुख अतिथि रहेका नेता आङ्दम्बेले उक्त आश्वासन दिएका हुन् । उनले भने, ‘कोभिडले अप्ठ्यारो पारेको पक्षलाई राज्यले अभिभावकत्व दिने विषयमा सौतेलो व्यवहार गर्नुहुँदैन ।’
मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यका रुपमा रहेको र त्यसले अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिएको अवस्थामा एउटा मन्त्रीको ‘ओभरस्मार्ट’ बन्ने सोचले ध्वस्त भएको विषयमा आफु जानकार रहेको भन्दै वैदेशिक रोजगार भित्रका समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ थियो ।
उनले भने, ‘संघ र एसोसिएसनले पूर्व मन्त्रीले जस्तो ‘ओभरस्मार्ट’ नभई लोकतान्त्रिक प्रक्रियाबाट पारदर्शीरुपमा अघि बढ्न जरुरी छ । एसोसिएसनले वैदेशिक रोजगारमा रहेका समस्या समाधान गर्न दिएको ज्ञापनपत्र परिवर्तन परिमार्जन गरी अगाडि बढाउन सहयोग गर्नेछु ।’
वैदेशिक रोजगारका लागि लागू भएको शुन्य शुल्कको प्रभावकारिताको मसिनोरूपमा छलफल गरेर जानुपर्ने भन्दै नेता आङ्देम्बेले फ्रि भिसा फ्रि टिकटको निर्णयले ऋणमा डुबेर वैदेशिक रोजगारमा जाने कामदारको हित नभएको भन्दै लोकतान्त्रिक तरिकाले समीक्षा गरेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
एसोसिएसनमा आवद्ध व्यवसायीहरुले गठबन्धन सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व दिन आग्रह गरेका थिए । तर नेता आङ्देम्बेले गठबन्धनको सरकार भएकाले नेतृत्व गर्नेले मलाई बढी अरूलाई कम होस् भन्न नहुने बताए ।
एसोसिएसनका संस्थापक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाटले सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णयमा व्यवसायीलाई शोषण गरकोले त्यसको अन्त्य गर्नुपर्ने माग गरे । सरकारले कामदार पठाउने इजरायल र कोरिया कामदार पठाउँदा रकम लिन पाउने तर व्यवसायीले पठाउने मुलुकमा निःशुल्क पठाउनु पर्ने भन्दै म्यानपावर कम्पनीले कम्तीमा एक महिनाको तलव पाउने विषय आइएलओ र डब्लूटीओले स्वीकार गरेकोले पेशामा पारदर्शिता आवश्यक हुने बताए ।
संघका कार्यवाहक अध्यक्ष कमल तामाङले संघले व्यवसायीका समस्या समाधान गर्न कुनै स्वार्थ नराखी काम गरिरहेको भन्दै कतार भिसा सेन्टर (क्यूभीसी)को कार्य प्रणाली सुधारको माग गरे ।
काठमाडौंमा लगाइएको निषेधाज्ञा हटे आगमी असोजमा संघको साधारणसभा गर्ने भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले अनावश्यक होहल्ला गरेर व्यवसायीहरुलाई भ्रममा पारेको दाबी गरे । उनले भने, ‘वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगार व्यवसायीले तीन वर्षका लागि इजाजतपत्र नवीकरण गर्नसक्ने लेखिएको विषयमा प्रगतिशीलले आफुले गराएको भनेर नाङ्गो राजनीति गरेकोे छ, संघले बोलाउँदा नआउने तर प्रधानमन्त्री कार्यालयको टिपेक्स लगाएको नक्कली चिठ्ठी बाँडेर हुँदैन ।’
संघका पूर्व अध्यक्ष विमल ढकालले एसोसिएसन पार्टीको शुभेच्छुक संस्था भएकाले पार्टी नीतिप्रति इमान्दार भएर काम गनुपर्ने आग्रह गरे । एसोसिएसनका अर्का पूर्व अध्यक्ष किरण किशोर घिमिरेले समग्र देशको अर्थतन्त्रमा २९ प्रतिशत योगदान दिएको र अर्थतन्त्र बचाएका क्षेत्रमा व्यवसायीका समस्या समाधानका लागि सकारात्मक पहल हुनुपर्ने माग गरे । व्यवसायीहरुले इजाजतपत्रका लागि राखेको धरौटी व्यवसायीहरुले नै निश्चित समयका लागि चलाउन पाउने व्यवस्था गर्न पाए राहत हुने भन्दै वैदेशिक रोजगारमा शुन्य लागतको कांग्रेसको सरकारको पालामा आएकोले सुधार पनि कांग्रेसको सरकारको पालामा हुनुपर्ने माग गरे ।
एसोसिएसनका अर्का पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले कोरोनाका कारण व्यवसाय ठप्प भएको तर विदेश जाने कामदारले क्वारेन्टिनसहित १ लाख ७० हजारसम्म खर्च गर्नुपरेको बिडम्बना रहेको भन्दै त्यसको समाधान गरी वैदेशिक रोजगारका लागि तत्कालका लागि जोन्सन एण्ड जोन्सनको ५० हजारदेखि एक लाख खोप भए पुग्ने धारणा राखे ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरूङले वैदेशिक रोजगारले मुलुकमा व्यवस्थापन हुन नसकेका युवाहरूलाई विदेशका व्यवस्थित उद्योगमा रोजगारी दिएर र गाउँको अर्थतन्त्रको विकासमा योगदान दिएकाले व्यवसायीको योगदानलाई उच्च मुल्यांकन र सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा एसोसिएनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले व्यवसायीलाई एकतावद्ध गरेर ऐन नियम परिवर्तन गर्ने, व्यवसायीले राखेको दुई करोड धरौटीमध्ये पचास लाख रुपैयाँ तत्कालका लागि फिर्ता गराउन पहल गर्ने बताए । यसअघि नेपाली कांग्रेसका सभापति शेर बहादर देउवा प्रधानमन्त्री हुँदा राहत पाएकाले यसपटक पनि राहत पाउनेमा आशावादी बनाएको बताए । एसोसिएसनले व्यवसायी कल्याण कोष, सेवा शुल्क परिमार्जन गर्न पहल गर्ने बताउँदै सरकारले पाँच सय रुपैयाँको पासपोर्ट दिँदा दश हजारसहित कोरिया र इजरायल पठाउँदा रकम लिने तर व्यवसायीहरुलाई निःशुल्करुपमा पठाऊ भनेर भन्न नहुने तर्क गरे ।
उनले तत्काल वैदेशिक रोजगार व्यवसायी र उनीहरुका कर्मचारी सबैलाई खोप, क्यूभीसी समस्याको समाधान हुनुपर्ने भन्दै हप्ता दिनभित्र सहजरुपमा सेवा दिन नसके क्यूभीसी बन्द गर्नुपर्ने एसोसिएसनको माग रहेको बताए । संघले सबै ८ सय ५४ व्यवसायीको नेतृत्व गर्नुपर्ने भन्दै संघले नेतृत्व गर्न नसके एसोसिएसन अघि बढ्ने समेत ढकालले बताए । एसोसिएसनका बरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले सञ्चालन गरेको कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष सीता देवकोटाले धन्यवाद मन्तव्य राखेकी थिइन् ।
त्यस अवसरमा पार्टीका विभिन्न विभागमा पार्टी सभापतिद्वारा मनोनित बिमल ढकाल, प्रज्ञान न्यौपाने, भुवन सिंह गुरुङ, सीता देवकोटा, शेषकान्त पुरी, श्याम श्रेष्ठ , कमल काफ्ले, नारायण पराजुली, जनक प्रसाद खड्का, नवीन पोखरेल, राधिका कटुवाल, मेघनाथ भुर्तेल, सोचेन्द हमाल, घनश्याम तामाङ, प्रकाश बोहोरा, कर्ण कटुवाल, कमल देव मल्ल, श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । एसोसिएनले एसोसिएसनका तृतीय उपाध्यक्ष नारायण पराजुलीको संयोजकत्वमा यम बहादुर बुढाथोकीसहित रहेको क्यालेडर प्रकाशन समिति गठन गरेको थियो । कार्यक्रममा उनीहरु सबैलाई सम्मान गरिएको थियो ।
तामाङले लिए एसोसिएसन सदस्यता
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बल बहादुर तामाङ सहितका व्यवसायीहरुले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सदस्यता लिएका छन् । नेकपा एमाले विवाद बढेको अवस्थामा केही समय अगाडि तामाङले नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाबाट सदस्यता पाएका थिए । तामाङसँगै व्यवसायी भिम रोका, प्रेम प्रसाद दुलाल, बलभद्र ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा तामाङले एमाले अध्यक्ष केपी ओली उत्तर कारिया तिर लागेपछि आफु नेपाली कांग्रेस प्रवेश गरें भन्दै संघ नेतृत्व नीतिगत निर्णय, सेवा शुल्क परिमार्जन, कामदारलाई खोपका प्रवन्ध गर्न माग गरे । मध्यान्ह दैनिकले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-