काठमाडौं : वैदेशिक राेजगारीमा जाने कामदारहरूले राजधानीको बाँसवारीस्थित गंगासागर अस्पतालबाट काेराना भाइरस (कोभिड–१९ ) विरूद्दकाे खाेप लगाउन पाउने भएका छन् ।
नेपाल वैदेशिक राेजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले आज साेमबार देखि नै एकमात्र डाेज लगाए हुने अमेरिकी कम्पनीको जाेन्सन एण्ड जाेन्सन खाेप लगाउन शुरू गरिएको बताए ।
खाेपका लागि वैदेशिक राेजगारमा जाने श्रम स्वीकृतिको निस्सा र राहदानी देखाउनुपर्छ । खाेप नलगाई गएमा कतार, साउदी अरबलगायतका नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकहरूमा प्रवेशमा कडाइ गरिएकाे छ भने तोकिएको समय अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने तथा पीसीआर परीक्षण नेगेटिभ आए पनि क्वारेन्टिनमा रहनैपर्ने व्यवस्था भएका स्वास्थ्य निर्देशिका लागू गरिएको छ ।
विभिन्न प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृति र जहाज टिकट लिएका कामदार खाेप खाेज्दै काठमाडौं आउने क्रम बढेको छ। वैदेशिक राेजगार व्यवसायीहरूले विदेश जाने कामदारका लागि तत्काल न्युनतम ५० हजार देखि एक लाख डाेज खाे छुट्टाउनु पर्ने माग गरेका छन् ।-मध्यान्ह
प्रतिक्रिया लेख्नुहोस्:-