काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा धेरै कामदार तनावमा देखिएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र श्रम स्वीकृतिका आधारमा सोमबार राजधानीका विभिन्न स्थानबाट जोन्सन एण्ड जोन्सनको खोप दिने भनेपनि करिब तीन घण्टामा खोप सकिएपछि खोप लगाएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेका कामदार तनावमा परेका हुन् ।
सरकारले सोमबार विहान दश बजेबाट राजधानीको बाँसवारीस्थित गंगालाल अस्पतालबाट वैदेशिक रोजगारीका जाने कामदारलाई खोप दिएपनि करिब साढे दुई घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन भन्दै खोप रोकिएको थियो । पोखरामा खोप शुरु नै नगरिएको बताइएको छ ।
वैदेशिक रोजगारीमा जानेहरुको खोप अचानक रोकिएपछि धेरैले सरकारी कदमको आलोचना गरेका छन् । स्वास्थ्य मन्त्रालयले दिउँसो दुई बजेतिर कोभिड–१९ खोप सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रमा जानेहरुलाई सोही खोप प्रदान गरिने भन्दै खोप लगाउन खोप केन्द्रमा जाँदा भिसा लगाएको पासपोर्टसँगै लिएर जान भनेको छ ।
त्यसअघि सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले प्रदान गरेको जोन्सन एण्ड जोन्सनको खोप राजधानीको जोरपाटी अपाङ्ग अस्पतालबाट लगाउन शुभारम्भ गरेका थिए । उक्त क्रममा पनि मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुले जोन्सन एण्ड जोन्सन खोप पाउने बताएको थियो । मध्यान्ह दैनिक ले छापेको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-