चरीकोट (दोलखा) साउन ६ गते । दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा रहेकाले महत्त्वपूर्ण मानिन्छ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग गोंगर–लामाबगरमा पर्ने काभ्रेभीर नजिकैको सडक भूकम्पले भत्किएपछि यो सुरुङमार्ग बनाइएको थियो । भूकम्पपछि सो क्षेत्रको करिब चार सय मिटर सडकको धेरैजसो भागमा जगसमेत नरहे गरी पहिरो गएको थियो । माथिल्लो तामाकोसी आयोजनाका प्राविधिक महाशाखा प्रमुख तथा उपप्रबन्धक इन्जिनियर बिमल गुरुङ सो स्थानमा सीधै तल रहेको तामाकोसी नदीसम्म करिब ३५० मिटर चट्टानी ठाडो भीर रहेकाले सडक निर्माण गर्न सम्भव नभएपछि सुरुमार्ग निर्माण गरिएको बताउनुभयो।
तामाकोसी आयोजनाका मुख्य सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले २०७३ साल असारमा खन्न सुरु गरी सुरुङमार्ग मङ्सिरमा निर्माण सम्पन्न गरेको छ मिटर चौडाइ र छ मिटर उचाइको इन्भर्टेड–डी आकारको ३३७ मिटर लामो सुरुङमार्गको निर्माण लागत करिब १७ करोड रुपियाँ रहेको छ । नेपालमा हालसम्म सानाठूला आकारका करिब २७० किलोमिटर लामा सुरुङहरू निर्माण भइसकेका अनुमान छ ।
ती सुरुङहरू अधिकांश जलविद्युत्, खानेपानी, सिँचाइ परियोजनाहरूमा पानी पठाउन र पहुँच सुरुङका रूपमा मात्र निर्माण भएका छन् । सार्वजनिक सवारी यातायातको उद्देश्यले केही सुरुङमार्ग मात्रै बनेको र केही निर्माणाधीन छ । तामाकोसीमा बनेको “काभ्रेभीर सुरुङमार्ग” नेपालको राष्ट्रिय राजमार्ग नेसनल एनएच २८ को रेखाङ्कनमा रहेको छ।
यसअघि नेपालको कुनै पनि राष्ट्रिय राजमार्गको रेखाङ्कनमा सुरुङमार्ग निर्माण भएको नपाइएकाले यसै सुरुङ मार्गलाई राजमार्गमा बनेको पहिलो सुरुङमार्ग भएको दाबी इन्जिनियर गुरुङको छ । लमजुङ जिल्लामा माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्ने क्रममा बाँधस्थल र विद्युत् गृहस्थल आवतजावत गर्न करिब तीन मिटर लामो (६.६ मिटर चौडाइ, ६ मिटर उचाइ) सुरुङमार्ग निर्माण गरिएको छ । तर सो सुरुङमार्ग राष्ट्रिय राजमार्ग एनएच २८ को रेखाङ्कनमा नरही खोलाको अर्को किनारमा अवस्थित छ ।
त्यस्तै काली गण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्ने क्रममा निर्माण सामग्री र अन्य सवारी आवतजावत गर्न चार सय मिटर लामो सुरुङमार्ग (आठ मिटर चौडाइ र आठ मिटर उचाइ) खनिएको थियो । त्यो सुरुङ हाल प्रयोगविहीन छ । भिटामोड जलेश्वर बर्दिबास खुर्कोट मन्थली तामाकोसी सिँगटी लामाबगर लाप्चेगाउँ सडकलाई सरकारले नेपाल, चीन र भारत जोड्ने सबैभन्दा छोटो नाकाका रूपमा लिएका छन् ।
तिब्बतको सिगात्से सहरबाट तातोपानी र केरुङ पुग्नुभन्दा लामाबगर पुग्न करिब ८० किलोमिटरभन्दा कम दूरी पर्छ । तातोपानी र केरुङबाट काठमाडौँ पुग्न र लामाबगरबाट काठमाडौँ पुग्नु उस्तै उस्तै दूरी पर्न आउने हुनाले यो नाकालाई सरकारले प्राथमिकतामा राखेको छ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत लामाबगरमा अर्को नौ सय मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डको सुरुङ मार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न सरकारले सुरुमा २५ करोड रुपियाँ विनियोजन गरेको छ भने सडक विभागले सुरुङ मार्ग बनाउन दुई अर्ब ४६ करोड रुपियाँ लाग्ने प्रतिवेदन तयार गरेको छ।-गोरखापत्र बाट



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-