काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सन् २०२१ – २०२३ कार्यकालका लागि ब्यबसायी, समाजसेवी एवं नेपाली जनसम्पर्क समिति मलेशियाका उपाध्यक्ष विनोद वहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
संघको उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको छ । नयाँ कार्यसमितिको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा र नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल तथा युवा संयोजकमा अरुण गिरी, सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी र पासाङ लामा रहेका छन् ।
एनआरएनए मलेसियाको नयॉ कार्यकालको आगामी अध्यक्ष पदका लागि थापा, महेन्द्र जंग शाही, सुन्दर आले र रमेश तिवारीको नाम चर्चामा थियो ।
संघले बिज्ञप्ति जारी गरी सन् २०२१–२०२३ कार्यकालको लागि नयाँ नेतृत्व छनौटका लागि जुलाई २५, तारिखका दिन अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
एनआरएनए मलेसियाको पञ्चिकृत सदस्यता लिने नेपालीहरुको संख्या ५ हजार २ सय ५९ पुगेको छ । यो संख्या एनआरएनए मलेसियाको इतिहासमै सबैभन्दा धेरै रहेको समेत बताइएको छ ।
एनआरएनए मलेसियाले सदस्यता शुल्क बापत्त उठ्ने रकम मलेसियामा कार्यरत रहँदा अलपत्र पर्ने नेपाली कामदारहरुलाई स्वदेश फिर्ता जहाज टिकट दिने देखि विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।
तर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले संस्था धनी भएपनि पीडित कामदारका पक्षमा काम नगरेको भन्दै वर्षौदेखि गुनासो गर्दै आइरहेका छन् ।
नव निर्वाचित अध्यक्ष थापाले गैरआवासीय नेपालीहरु र मलेसियामा रहेका श्रमिकहरुको हक, हित तथा उनीहरुको समस्याको समाधानको निम्ति लाग्ने मध्यान्हलाई बताए ।-मध्यान्ह दैनिकले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-