काठमाडौं : कतारले आफ्नो मुलुक प्रवेश गर्ने विदशीले मान्यता प्राप्त खोपको मात्रा पूरा गरेको भए क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको छ । कतारमा संक्रमितहरुको संख्या उल्लेख्य रुपमा घटेपछि क्वारेन्टिनको शर्त केही खुकुलो पारिएको हो ।
कतारस्थित नेपाली दूतावासले कतार सरकारको नयाँ नियम उल्लेख गर्दै खोप लगाएको कम्तीमा १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ । कतारले फाइजर, बायोन्टेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड÷अक्सफोर्ड) र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ । दूतावासका अनुसार मान्यता प्राप्त खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्नेछ ।
प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने कार्यालयको छाप हुनुपर्ने छ । सिनोफर्म खोप लगाएका व्यक्तिको भने शरीरमा कोरोना प्रतिरोधी एण्टिबडी भए÷नभएको परीक्षण गरिने बताइएको छ ।
कतार प्रवेश गर्नु ७२ घण्टाअघि गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने यसअघिको अनिवार्य नियम भने यथावत रहेको छ । कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु नपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।
नेपाली दूतावासले खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पूरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य ‘डिस्कोभर कतार’ वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।
त्यस्तै दूतावासले कतार प्रवेश गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि अनलाइनमार्फत प्रि–रजिस्ट्रेशन गरी तोकिएका कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिटसमेत साथमा बोक्नुपर्ने बताएको छ ।
कतारले आइतबारसम्म खोप लगाउन योग्य वर्गमा रहेका ७९.१ प्रतिशतले खोप लगाइसकेको बताएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा १६ वर्षभन्दा माथि उमेरको जनसंख्या ६७ प्रतिशत रहेको छ । ६० वर्ष भन्दा बढी उमेरका ९८.६ प्रतिशतले कम्तीमा एक डोज खोप र ९३.५ प्रतिशतले दुवै डोज खोप लगाइसकेको भन्दै कतारले नयाँ संक्रमितहरुको संख्या उल्लेख्यरुपमा घटेको बताएको छ । मध्यान्ह दैनिक ले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-