वीरगंज : निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान सञ्चालनमा आएपछि हवाईमार्गबाट सिमरा-काठमाडौं आवतजावत गर्नेहरुको चाप बढ्दै गएको छ। पछिल्लो समय दैनिक १६ सयदेखि १८ सयजनाले सिमरा-काठमाडौं हवाईयात्रा गरिरहेको बताइएको छ।
सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख वसन्त गौतमका अनुसार अहिले दैनिक विभिन्न कम्पनीको १२ वटा हवाई उडान भइरहेको बताए। जसमा बुद्ध एयरको १९ सिटे, ४२ सिटे गरी एक/एक उडान, ७२ सिटे ६ वटा उडान, यती एयरलायन्सको ७२ सिटे तीनवटा उडान र श्री एयरलाइन्सको ८० सिटे एउटा उडान गरी कुल १२ वटा उडान भइरहेको उनले जानकारी गराए।
निषेधाज्ञाको कारण काठमाडौं र वीरगंज आसपासमा रोकिएका यात्रीहरु सहज रुपमा र छिटो सिमरा/काठमाडौं पुग्न हवाई यात्रा रोजिरहेको उनको विश्लेषण छ।
उपचार, व्यवसाय, व्यापार, काम विशेषलगायत प्रयोजनका कारण हवाई मार्गबाट यात्रा गर्नेहरुको चाप बढेको उनले बताए। असार १७ गतेदेखि खुलेको आन्तरिक उडान पछि वर्षा र बाढी पहिरोको कारणले पनि अधिकांश यात्रीहरु हवाईजहाजबाट नै काठमाडौं यात्रा गरिरहेका छन्।
अहिले सिमरा-काठमाडौंको भाडा २९ सयदेखि ३ हजारसम्म रहेको उनले बताएका छन्। यात्रीको चाप बढे पनि करीब एक महिनादेखि भाडा तीन हजारकै हाराहारीमा रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-