काठमाण्डौ – नेपालबाट कतार जाने यात्रुले अनिवार्य रुपमा होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।
कतार सरकारले अगस्ट दुईदेखि लागू हुने गरि नयाँ ट्राभल गाइडलाइन जारी गरेको छ । योसँगै नेपालबाट कतार जाने यात्रुलाई कोरोना विरुद्धको खोप लगाएको भए पनि होटेल क्वरेण्टीन अनिवार्य गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
योभन्दा पहिले जुलाई १२ देखि कतारले कोरोना खोप लगाएकालाई क्वरेण्टीन बस्नु नपर्ने नियम लागू गरेको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कतार सरकारले थप कडाइ गरेको हो । नयाँ नियम अनुसार कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वरेण्टीन बस्नुपर्ने दूतावासले जनाएको छ । दोस्रो दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने छ ।
यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडी वाहक यात्रुहरूले १० दिन होटल क्वरेण्टीन बस्नुपर्ने हुन्छ । खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेस भिसा अन्तर्गतका) यात्रुहरूलाई भने कतारमा प्रवेश गर्न दिइने छैन । यसबारे थप जानकारीको लागि सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-