काठमाडौं : कतार सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुलाई थप मार पर्ने भएको छ ।
कतारमा अनिवार्य गरिएको क्वारेन्टिन होटलमा बस्नुपर्छ । न्यून आय भएका नेपाली कामदारहरूलाई होटल क्वारेन्टिन बस्नु कठिनाइ हुने कामदारहरु बताउँछन् । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा महँगो जहाज टिकटले मारमा परेका नेपाली कामदार होटल क्वारेन्टिनका लागि थप खर्च व्यहोर्नु परेपछि कतारको रोजगारी निल्नु न ओकल्नु सरह भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।
कतारले ९ जुलाइदेखि धेरै क्षेत्रहरुमा फुकुवा गरेपछि रोजगारीको अवसर बढेको छ । त्यसले विदेशी कामदारको माग समेत बढाएको छ । तर शुक्रबार नयाँ सुचना जारी गर्दै कतारले पूर्णरुपमा खोप प्राप्त गरेका विदेशी यात्रीहरुलाई समेत क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ भने खोप नलगाएकालाई कतार प्रवेशमा रोक लगाएको छ । खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमले कतार जाने नेपाली कामदारको क्वारेन्टिन खर्च मात्रै एक लाख रूपैयाँ बराबर बढ्ने कतिपयको विश्लेषण छ । एयरलाइन्सहरूले टिकट बुकिङकै समयमा होटल तथा क्वारेन्टिन खर्च जोड्ने गरेका छन् ।
यसैबीच कतारले विदेशी कामदारको परीक्षण समय अवधि बढाएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले घरेलु सहयोगीसहित कामदारहरुका लागि परीक्षणका अवधि यसअघिको तीन महिनाबाट बढाएर नौ महिनासम्म पुर्याएको बताएको छ ।
मन्त्रालयले सन् २०२१ को निर्णय नं २१ को कार्यान्वयन शुरु गर्ने घोषणा गर्दै रोजगारदाताले विदेशबाट कामदार भर्ना गर्दा विदेशी कामदारलाई रोजगारदाताबाट हस्ताक्षरित कामका शर्तहरुको प्रतिलिपिसहित सम्झौतापत्र दिन अनिवार्य गरेको छ । सम्झौतापत्रमा रोजगारदाताले विदेशी कामदारहरुलाई निजी आवास र खाना उपलब्ध गराउनु पर्ने लगायतका दायित्व थप गरेको छ । मध्यान्ह दैनिकले छापेको छ












प्रतिक्रिया लेख्नुहोस्:-