काठमाडौं : मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपाली कामदारहरुको मृत्यु हुने क्रम बढेको छ । कोरोनाबाट पछिल्ले पटक बुधबार गोरखा नगरपालिका १० बिरेन्चोकका बहादुर आले मगरको मृत्यु भएको हो । कोरोना संक्रमण भई विगत १२ दिनदेखि उपचाररत ४४ वर्षीय मगरको बुधबार बिहान मृत्यु भएको बताइएको छ ।
यसै हप्ताको मंगलबार पनि मोरङको सुनवर्सी नगरपालिका वडा न.६ रतुवामाईका ३६ वर्षका सुरेश कुमार दासको पनि कोरोनाका कारण निधन भएको थियो । सोही दिन कोरोना संक्रमणबाटै सुरक्षागार्डको रोजगारी गर्ने विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतका ४२ वर्षीय तुलाराम पुलामी र पर्सागढी नगरपालिका वडा न ४ का २९ वर्षीय सिकेन्द्र कुमार चौरसियाको पनि मृत्यु भएको थियो ।
मृतकहरुको शवको प्रक्रिया पूरा गरी मलेसियामा नै अन्तिम संस्कार गरिने नेपालीहरुले बताएका छन् । पछिल्लो एक महिनामा मलेसियामा कोरोना संक्रमणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना नेपाली कामदारको मृत्यु भएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-