बार्सिलोनाका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् । क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर छ, जहाँ उनी श्रीमती र तीन छोरासँग बस्छन् ।
यसअघि आइतबारमात्रै मेस्सीले बार्सिलोनाको २१ वर्षे करियर टुंगिएको घोषणा गरेका थिए । मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न समेत आफु तयार रहेको बताएका थिए । तर, स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको उनले जनाएका थिए ।
‘मैले निकै स्तब्ध महसुस गरें,’ मेसीको १० नम्बर अंकित जर्सीलगाएका बार्सिलोनाका फ्यान क्रिष्ट्रियन गार्सियाले भने,‘मैले सधैं पछ्याइरहेको खेलाडीलाई देख्न पाउनु मेरा लागि उदाहरण थियो । अहिले उनले क्लब छाडिरहेको हेर्नुपर्दा निकै पीडा भएको छ ।’
‘क्लबले मेस्सीलाई राख्नका लागि पर्याप्त ग¥यो भन्ने मलाई लाग्दैन । मलाई लाग्छ, उनलाई राख्ने विषय क्लबको हातमा थियो,’ बार्सिलोना र अर्जेन्टिनाका फ्यान गोन्जालो मोरेनोले भने । समर्थक जोनस रोमेरोले मेस्सी पिएसजी जानुअघि अन्तिमपटक उनलाई देख्न पाइन्छ कि भनेर घर अगाडि आएको बताए । ‘मेस्सीलाई मेरो जर्सीमा हस्ताक्षर गर्न लगाउने उनीसँग फोटो खिचाउने रहर छ,’ उनले भने । मेस्सीले पेरिस सेन्ट जर्माइन जाने संभावना रहेको जनाएका छन् । तर, यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन ।
लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको छ । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् ।
सर्जियो बुस्क्वेट्स बने बार्सिलोनाको नयाँ कप्तान
भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए । आइतबार युभेन्टस्विद्धर जोआन गाम्पर ट्रफीमा बुस्क्वेटस्ले बार्सिलोनाको कप्तानी गरे । मेसीको क्लब छाड्ने घोषणापछि बार्साले खेलेको यो नै पहिलो खेल हो । यस खेलमा बार्सा ३–० ले विजयी भयो । खेलपछि बुस्क्वेट्सले मेस्सीको निकै प्रशंसा गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-