काठमाडौं : राहदानी विभागमा नयाँ राहदानी बनाउनेको भीड बढेको छ । खाडी मुलुकमा कामदार जाने क्रम बढेको र सरकारले इजरायलको रोजगारीका लागि आवेदन माग गरेपछि विभागमा नयाँ राहदानी लिनेको भीड दैनिकरुपमा बढ्दै गएको हो ।
विभागले १५ हजार रुपैयाँ शुल्क तिरेर दिउँसो एक बजेसम्म निवेदन दिए सोही दिन बेलुका ५ बजे, १२ हजार शुल्क तिरेमा भोलिपल्ट बेलुका ५ बजे, १० हजार शुल्क तिरेमा आवेदन गरेको तेश्रो दिन र ५ हजार रुपैयाँ तिरेर जिल्लाबाट आवेदन गरेमा ३५ दिन र विदेशबाट नेपाली दूतावासहरु मार्फत आवदेन गरेमा बढीमा ४५ दिनमा राहदानी दिने गरेको छ । तर तत्काल राहदानी चाहिनेहरु जिल्लाबाट सिफरिश लिएर विभागमा आवेदन दिन आउने क्रम बढेको छ ।
सरकारले राजधानीमा कोरोना भाइरस संक्रमण बढेको भन्दै स्वास्थ्य सुरक्षा व्यवस्थालाई कडाइ गरेपनि राहदानी विभागमा आवेदकहरुको भीडले स्वास्थ्य मापदण्डको खिल्ली उडाइरहेको राहदानी बनाउन सर्लाहीबाट आएका राम नरेश पासवानले मध्यान्हलाई बताए ।
उनले भने, ‘यहाँ कोरोना संक्रमणभन्दा पनि कसरी सकेसम्म छिटो राहदानी हात पार्न सकिन्छ भन्ने भावनाले स्वास्थ्य मापदण्ड पालना नगरी तछाड मछाड गर्ने गरेका छन् ।’ खटिएका सुरक्षाकर्मीहरुले भीड व्यवस्थापन कसरी गर्ने योजना बनाउन सकेको देखिएको छैन ।
इजरायलको केयर गिभरको आवेदन भर्ने योजनामा रहेकी मकवानपुरकी नवीना घलानले जिल्लाबाट आवेदन गर्दा तत्काल राहदानी पाउन नसक्ने अवस्था रहेकाले आफु कोरोनाको त्रासकाबीच काठमाडौंमा आएर राहदानीका लागि आवेदन दिएको बताइन् । छिटो राहदानी बनाउन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्न पनि उनले सरकारसँग आग्रह गरिन् ।
सन् २०१९ को अन्त्यदेखि कोरोना संक्रमण बढेपछि विदेश यात्रामा ठूलो गिरावट आएको भएपनि विकासित मुलुकहरुमा खोप पर्याप्त मात्रामा उपलब्ध भएपछि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु बढेसँगै विभागमा पनि नयाँ राहदानी बनाउनेको चाप बढेको विभागका एक कर्मचारीले बताए ।
अघिल्ला वर्षहरुमा ७ लाख बढी राहदानी जारी गर्दै आएको विभागले गत वर्ष करिब साढे तीन लाख मात्र राहदानी जारी गरेको थियो । अघिल्ला वर्ष राहदानी बनाउन नपाएकाहरु यस वर्ष थपिएको कतिपयको भनाइ छ ।
विभागले एक वर्षको अवधिमा ३ लाख ४९ हजार १ सय ७५ थान मेसिन रिडेबल राहदानी ( एमआरपी) जारी गरेको बताएको छ । त्यसमा वैदेशिक रोजगारीमा गएको संख्या करिब एक लाख रहेको छ । विभागले हालसम्म ६७ लाख ७९ हजार ४सय ५८ थानभन्दा बढी एमआरपी जारी भएको समेत बताएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-