नयाँबजार काठमाण्डू बस्ने मोहन शर्मा (नाम परिवर्तन) लाई वैशाखको मध्यमा बैंक अफ काठमाण्डू,कमलपोखरीबाट फोन आयो । तपाइँको भिसा कार्ड बनेको छ,लिनु आउनु । मोहन छक्क परे । किनकी उनले बैंक अफ काठमाण्डूमा आफ्नो भिसा कार्ड (एटीएम कार्ड) बनाउन निवेदन नै दिएका थिएनन् । तर बैंकबाट कार्ड बनेर आएको छ लिन आउनुस् भन्ने फोन आएपछि उनी अचम्ममा परे ।
फोन गर्ने कर्मचारीलाई मोहनले आफूले एटीएम कार्ड बनाउन निवेदन नदिएको र कार्ड पनि नचाहिने जवाफ दिए । तैपनि उनको कार्ड क्यान्सिल भएन,बरु खाताबाट ३५० रुपैयाँ काटियो । तर पनि ती ग्राहक बैंकमा कार्ड लिनका लागि गएनन् । साउनको अन्तिम साता मोहनलाई बैंकबाट फेरि फोन आयो । कार्ड त क्यान्सिल भइसक्यो होला भनेको त मोहनलाई फेरि कार्ड दिन आउनु भन्दै फोन आयो । त्यसपछि मोहन आफ्नो खाता रहेको शाखा कमलादीमा पुगे । एटीएम कार्ड लिए र ब्राञ्च म्यानेजरलाई भेट्न पुगे । मेरो कार्ड कुन निवेदनका आधारमा बनाइएको हो भनेर ब्राञ्ज म्यानेजर सुस्मा शाहलाई सोधे ।
तर ब्रान्ज म्यानेजर शाहले कार्ड कसरी बन्यो भन्ने हामीलाई थाहा नभएको भन्दै कार्ड एक्सपायर भएपछि कार्ड डिपार्टमेण्टबाट आफै बनेर आउने भन्दै कार्ड डिपार्टमेण्टका प्रमुख अमर राजभण्डारीलाई सोध्न भने । मोहनले आफूले निवेदन नै नदिएको अवस्थामा किन र कसरी कार्ड बन्यो र आफ्ना खाताबाट किन रकम काटियो भन्दै आक्रोश व्यक्त गरेपछि एटीएम कार्ड क्यान्सिल गरिदिने र काटिएको रकम खातामै फिर्ता गरिदिने बताइन् ।
मोहन त एक प्रतिनिधि पात्र मात्रै हुन् । कुनै समय कार्ड बनाएको तर खासै नचलाएको ग्राहकको पनि अहिले धमाधम कार्ड बन्ने गरेको छ । एटीएम कार्ड बनाउँदा लिइने ३५० रुपैयाँ र प्रत्येक वर्ष व्यवस्थापन खर्च भन्दै लिइने थप ३५० रुपैयाँ बैंकको आम्दानी हो । करिब १० लाख ग्राहक रहेको बैंकले पनि ८० प्रतिशत अर्थात् ८ लाख ग्राहकलाई एटीएम कार्ड जारी गरेको अवस्थामा वार्षिक २८ करोड रुपैयाँ आम्दानी हुन्छ । त्यति मात्रै होइन,कुनै पिओएस मेसिनमा स्वाइप गर्दा पनि निश्चित प्रतिशत कमिसन आउँछ भने अन्य बैंकको एटीएम बुथबाट रकम झिक्दा लाग्ने पैसाको पनि निश्चित प्रतिशत कमिसन बैंकको खातामा आउँछ ।
धेरै कार्ड चलाउने ग्राहकबाट बैंकलाई राम्रै फाइदा हुन्छ,जसका कारण बैंकले ग्राहकलाई कुनै जानकारी नै नदिई आफूखुशी एटीएम कार्ड जारी गरिदिने गरेका छन् । यस सम्बन्धमा कुरा गर्दा बैंकका रिसर्च एण्ड डिपार्टमेण्टका सुजन पुडासैनीले ग्राहकलाई जानकारी नै नदिई वा ग्राहकले फारम नै नभरी आफूखुसी कार्ड जारी हुनु दुःखद कुरा भएको भन्दै यस सम्बन्धमा सम्बन्धित शाखासँग कुरा गर्ने बताए । उनले भने, ‘एउटा कार्ड एक्सपायर भइसकेपछि ग्राहकबाट फारम नै नभराई नयाँ कार्ड बनाउनु त नहुने हो,तर पनि के भएको रहेछ म सम्बन्धित शाखासँग कुरा गर्छु ।’
भिसा कार्ड संवेदनशील विषय पनि भएकाले सुरक्षामा कमजोरी भएन र भन्ने रातोपाटीको प्रश्नमा पुडासैनीले आफै नवीकरण हुने व्यवस्था रहेको बताए । तर नवीकरण हुनु र नयाँ कार्ड नै बनेर आउनु एउटै कुरा हो र भनेपछि उनले ग्राहकले फारम नै नभरी कार्ड बनेर आएको भए ग्राहकको पैसा फिर्ता गरेर कार्ड क्यान्सिल गरिदिने बताए । भनेपछि ग्राहकले गुनासो गरेमात्रै कार्ड क्यान्सिल गरेर फिर्ता दिने,ग्राहकले वास्ता गरेनन् भनेचाहिँ पैसा खाइदिने हो भन्ने प्रश्नमा बुढाथोकीले बैंक ग्राहकको सुरक्षा र अधिकारप्रति सजग रहेको भन्दै ग्राहकको नाम,कार्ड नम्बर आदि प्रदान गरिदिन आग्रह गरे ।
पुडासैनीले यस सम्बन्धमा थप कुरा बैंकका चिफ इन्फरमेसन अफिसर महेश मिश्रसँग कुरा गर्न भनेपनि मास्केले कार्ड डिपार्टमेण्टका रितेश लामिछानेसँग कुराकानी गर्न भने ।
फारम नै नभरी कार्ड जारी गर्न पाइँदैन, उजुरी आए कारवाही हुन्छः राष्ट्र बैंक
यता राष्ट्र बैंकले भने ग्राहकको निवेदन नै नआई वा ग्राहकले फारम नै नभरी आफूखुशी भिसा वा त्यस्ता कार्डहरू जारी गर्न नपाइने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले निवेदन नै नदिई कार्ड जारी गर्नै नमिल्ने बताउँछन् ।
उनले भने, ‘निवेदन नै नदिई त कसरी कार्ड जारी हुन सक्छ र ?तपाईंलाई चाहिने हो कि नचाहिने हो ?तपाईंले आजबाट स्टप पो गर्नु भएको हो कि ?कार्ड नै नलिने तपाईंको चाहना हो कि ?अर्को कुरा कार्ड त गोप्य पनि हो,त्यति सजिलो होइन । पहिले त फारम भरेर कार्ड माग्नु पर्यो,अनि पो प्रोसेस भएर कार्ड बन्छ त ।’
प्रवक्ता ढकालले बैंकले शुल्क लिएर दिने सेवाहरु यदि वार्षिक नवीकरण गर्नुपर्ने प्रकृतिको छ भने प्रत्येक वर्ष बैंकले ग्राहकसँग कुरा गरेर मात्रै नवीकरण गर्ने वा नगर्नेबारे निर्णय गर्नुपर्ने बताए । ग्राहकलाई जानकारी नै नदिई ग्राहकको खाताबाट यो वा त्यो बहानामा रकम काट्न नपाइने भन्दै त्यस सम्बन्धमा उजुरी आएमा नेपाल राष्ट्र बैंक ऐन,२०५८ अनुसार सचेत गराउने वा जरिवाना तिराउने गर्न सकिने प्रवक्ता ढकालले बताए । यो समाचार रातोपाटि मा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-