ताप्लेजुङ — गाउँमा संकलन गरिएको चिराइतो पछिल्लो समय भारतमा बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार क्षेत्र तथा नाकामा पुर्याउन थालिएको छ । सिदिङवा गाउँपालिका–५, साब्लाखुका सविन बानियाँले पनि ओलाङचुङगोला पुर्याएको चिराइतो अब भारत लैजाने भन्दै फर्काएर सदरमुकाम फुङलिङ ल्याएका छन् । चीनको तिब्बतमा बिक्रीका लागि लगिएको भए पनि दुई वर्षदेखि बस्तीमै थन्किएपछि भारतमा बिक्री गर्ने उद्देश्यले फर्काएको उनले बताए । अब मूल्य र समय हेरेर काँकडभिट्टा पुर्याउने उनको तयारी छ ।
पाँचथरका व्यापारी रुद्र अधिकारीले पनि आफूले गाउँमा संकलन गरेको चिराइतो झापाको बिर्तामोड पुर्याएका छन् । करिब एक सय मन बिक्री गरिसकेका उनले थप एक सय मन झापा पुर्याइसकेको र बिक्रीको तयारीमा रहेको बताए । गाउँको चिराइतो पनि खरिद गरिरहेका छन् । ताप्लेजुङ र पाँचथरमा किनेको चिराइतो दुई वर्षदेखि गाउँमै भण्डारण गरेका थिए । कतिपय बिर्तामोड पुर्याएका थिए । यहाँका किसान र व्यापारीले चिराइतो धमाधम बिर्तामोड लैजान थालेका छन् । मूल्यका लागि उनीहरू सीमा नाकामा पुर्याउन बाध्य भएका हुन् ।
रुद्रका अनुसार एक दशकअघिसम्म चिराइतो भारतमात्रै जान्थ्यो । त्यो बेलाको अधिकतम मूल्य प्रतिमन (४० किलो) ८ हजार रुपैयाँ थियो । चीनका व्यापारीले त्योभन्दा बढी मूल्य दिएपछि तिब्बत पठाउन थालियो । मान्छेले बोकेरभन्दा हेलिकप्टरमा लैजाँदा छिटो र सस्तो पर्ने भएकाले संखुवासभाबाट हेलिकप्टर चार्टर गरेर पनि लगेको सविन बताउँछन् । उनका अनुसार पाँच वर्षअघिको मूल्य ३२ हजार रुपैयाँसम्म थियो ।
ताप्लेजुङ, इलामको समेत चिराइतो संखुवासभा पुर्याएर हेलिकप्टरबाट लगिएको थियो । यो वर्ष बिर्तामोडमा प्रतिमन ३० हजार रुपैयाँ रहेको भारत निर्यात गर्ने बिर्तामोडका व्यापारी हरि मिश्र बताउँछन् । गाउँमा खरिद गर्ने अधिकारी भने ताप्लेजुङ र पाँचथरमा प्रतिकिलो ६ सयले (२४ हजार रुपैयाँ प्रतिमन) खरिद गर्ने बताउँछन् ।
ताप्लेजुङबाट बिर्तामोडसम्मको भाडा प्रतिगाडी ५० हजार रुपैयाँ रहेको व्यापारी बताउँछन् । एउटा गाडीमा २४ सय किलोसम्म मात्रै अटाउँछ । निकासी कर प्रतिकिलो ५ रुपैयाँ तिर्नुपर्छ । छुट पुर्जीका लागि डिभिजन वन कार्यालयमा किलोको १५ रुपैयाँ बुझाउनुपर्छ । यी सबै खर्च व्यापारीले नै तिर्नुपर्ने भएकाले किसानले केही कम मूल्य पाएका हुन् । जडीबुटीको गाडी बाटोमा बढी जाँच हुने र धेरै समय लगाउने भएकाले ट्रकले बढी भाडा लिने गरेको अधिकारी बताउँछन् । उनका अनुसार २ सय ३५ किलोमिटर सडकमा एउटा ट्रकले ६० हजार रुपैयाँसम्म पनि लिएको उदाहरण छ ।
अलैंचीको तुलनामा चिराइतो निकासी झन्झटिलो रहेको व्यापारीको गुनासो छ । चिराइतो संकलनका लागि यस वर्ष १६ हजार ३ सय ३४ किलोको अनुमति दिएको डिभिजन वन कार्यालयले जनाएको छ । लेखापाल सीता योगीका अनुसार रोयल्टीबाट २ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ । दुई वर्षसम्म बाँच्ने झार वर्गको यो वनस्पति चार वर्षमा मात्रै संकलन योग्य हुन्छ । पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाएर मुला जस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पातहरू पलाएर आउने र फूल तथा बीउ लाग्ने गर्छ ।
दुई वर्षमा सप्रेको बोट १ दशमलव ५ मिटरसम्म अग्लो हुने किसान बताउँछन् । हाँगा भएर बढ्ने चिराइतो चार वर्षमा काट्न योग्य हुन्छ । त्यो बेलासम्म यसले बीउ पनि उत्पादन गर्छ । भाले र पोथी भनेर पनि छुट्याइने चिराइतो भने २७ प्रजातिको हुने डिभिजन वन अधिकृत वीरेन्द्र शाह बताउँछन् । हिमालय क्षेत्रको रैथाने यो प्रजाति प्राकृतिक अवस्थामा १७ देखि ३५ सय मिटरसम्म हुन्छ । ताप्लेजुङका सबै वडामा हुने यो पूर्वाञ्चलमा बढी हुने गरेको छ ।
औषधिजन्य वनस्पतिका रूपमा रहेको यसलाई आयुर्वेदिक, होमियोप्याथी, आम्ची तथा एलोप्याथी औषधीय पद्धतिका साथै अन्य उद्योगमा पनि प्रयोग हुने गरेको शाहले बताए । सबैभन्दा बढी खपत भारतको मुम्बई र पटनामा हुने व्यापारी मिश्रले बताए । साउनदेखि कात्तिकसम्म फुल्ने र असोजदेखि मंसिरमा पाक्ने यसको संकलन भने कात्तिक र मंसिरमा गरिन्छ । उखेलेपछि एक किलो जतिका स–साना मुठा बनाइने यसलाई हावा चल्ने ठाउँमा भण्डारण गरिन्छ । राम्रो सुकिसकेपछि यसको तौल नघट्ने अधिकारी बताउँछन् । ‘मैले व्यापार सुरु गर्दा ठूला व्यापारीले सुक्ती काट्थे,’ अधिकारीले थपे, ‘अहिले मैले आफैंले अनुभूति गरें, एक पटक राम्रो सुकेपछि नघट्दो रहेछ ।’
पहिला जंगल र खेतबारीमा स्वतः उम्रने चिराइतोको किसानले खेती पनि गर्न थालेका थिए । तर मूल्यको उतार चढावका कारण समस्या भएको थियो । यो वर्ष ३० हजार पुगेको मूल्य गत वर्ष १२ हजार मात्रै रहेको व्यापारी मिश्रले बताए । भारततर्फ गाडीमै जाने भए पनि चीन लैजानका भने गोलादेखि चौंरीलाई बोकाएर लगिन्छ । गोलासम्म मान्छेले लगे पनि श्वासप्रश्वासका कारण त्योभन्दा माथि चौंरीलाई बोकाउनुपर्ने बाध्यता रहेको गोलाका नुपु शेर्पाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-