काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिष्ठान गर्न जोड दिएका छन् । व्यापार घाटा डरलाग्दो किसिमले बढिरहेका बेला अर्थमन्त्री शर्माले उत्पादन बढाएर व्यापार घाटा कम गर्ने उद्घोष गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्ने बताए । निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांक अनुसार व्यापार घाटा १२ खर्ब ६२ अर्ब छ । जेठसम्म १३ खर्ब ८३ अर्ब ३६ करोडको आयात भएको छ । तर उक्त समयमा १ खर्ब २१ खर्ब २५ करोडको मात्रै निर्यात भएको छ ।
अर्थमन्त्री शर्माले कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाइला चाल्ने पनि बताए । ‘राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि लागि सरकार तयार छ’ उनले भने । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने उनले बताए ।
वैदेशिक लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पूँजी निर्माण गर्नतिर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको बताए ।
सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको उनको भनाइ छ । महासंघले १० वर्षमा १ सय ५० अर्ब अमेरिकी डलर बराबरको पूँजी निर्मााण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको बताए । यसबाट थप २२ लाखले रोजगारी पाउने उनको भनाइ छ । ‘लक्ष्य प्राप्तिका लागि १० प्राथमिकताको क्षेत्र र एक सय पहल पहिचान गरेका छौँ’, उनले भने ।
नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने संकल्पसहितको नीति लिएकोमा खुसी व्यक्त गरे । अर्थतन्त्र जोगाउन ‘एक प्यान, एक खोप’ नीति अघि सार्न उनले सरकारसँग माग गरे । अध्यक्ष श्रेष्ठले परिमार्जित बजेटबाट करको दर कम हुने, मूल्य अभिबृद्धि दर कम गर्ने, आगामी केही वर्षसम्म बैंक व्याजदर एकल दरमा नबढ्ने तथा लघु–साना–घरेलु उद्योग व्यवसायलाई प्रत्यक्ष सहयोग हुने राहत प्याकेजको व्यवस्था हुने आशा व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-