काठमाडौँ, साउन ३२ गते । बालाजुको गोंगबुस्थित नयाँ बसपार्कलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइएको छ ।
यसअघिको हस्तलिखित कागजी टिकट वितरण व्यवस्थालाई विस्थापित गरी डिजिटल प्रविधिमा रूपान्तरण गरिएको छ । नयाँ बसपार्कभित्र रहेका ३२ वटा टिकट काउन्टरमा कम्प्युटरबाट टिकट वितरण र बुकिङ गर्न सुरु गरिएको छ । यो सेवाको प्रारम्भसँगै यात्रुले बसको टिकट काट्न वा अग्रिम बुकिङ गर्न नयाँ बसपार्क धाइराख्नुपर्ने समस्या हटेको छ ।
लोत्से बहुउद्देश्यीय प्रालिका सञ्चालक दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न र प्रविधिमैत्री बनाउने उद्देश्यअनुरूप साउनबाट टिकट काउन्टरलाई कम्प्युटर प्रणालीमा रूपान्तरण गरिएको बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमणको बेलामा यात्रुले अनलाइनबाट टिकट खरिद तथा बुकिङ र टिकट रकम (भाडा) तिर्न सक्ने छन् । त्यस्तै कति नम्बरको बस कति बजे कुन गन्तव्यका लागि प्रस्थान गर्दैछ भन्ने कुरा सजिलै थाहा पाउन सकिने छ । बसमा सिट भए, नभएको सूचना पनि यात्रुले पाउने छन् ।
काठमाडौँ महानगरपालिकाले आगामी २१०२ सालसम्मका लागि बसपार्क सञ्चालनको जिम्मा लोत्सेलाई सुम्पेको छ । संस्थाका अध्यक्ष कुँवरले अत्याधुनिक, सुविधा सम्पन्न र स्मार्ट बसपार्क निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
टिकट काउन्टरमा बस्ने कर्मचारीका लागि पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ । बसपार्क क्षेत्रमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउनुका साथै धूमपान, मदिरापान, गुट्खा–पान आदिको बिक्री वितरण निषेध गरिएको छ । ‘दक्षिण एसियाकै नमुना अन्तर्राष्ट्रिय बसपार्कका रूपमा विकास गर्ने रणनीति अनुरूप बसपार्क निर्माण कार्य जारी छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-