काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक कतारमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नियन्त्रणमा देखिएको छ । कतारमा कोरोनाका कारण पछिल्लो समय मृत्यु हुने क्रम नियन्त्रणमा रहेको त्यहाँको सरकारी अधिकारीहरूले बताएका छन् ।
कतारमा २८ जुलाई पछि कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु नभएको कोरोनाको तथ्यांक राख्ने वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । २८ जुलाइमा १ जनाको मृत्यु भएको कतारमा त्यसपछिको समयमा कुनै पनि व्यक्तिको मृत्यु नभएको बताइएको छ । कतारमा कोरोनाका कारण हालसम्म ६ सय १ जनाको मृत्यु भएको छ । जुन खाडी मुलुकमा सबैभन्दा कम हो । अन्य खाडी मुलुक र मलेसियामा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या कतारको तुलनामा निकै धेरै रहेको छ ।
कतारमा हालसम्म कोरोना संक्रमितको संख्या पनि २ लाख ३० हजार ४ सय ४२ जना पुगेको छ । जसमध्ये २ लाख २६ हजार ९ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार त्यहाँ सक्रिय संक्रमितिको संख्या २ हजार ८ सय ४५ जना मात्र रहेको वल्ड्रोमिटरले जनाएको छ । शुक्रबार २ सय २२ जना नयाँ संक्रमित थपिएका थिए । कोरोनाका कारण साउदी अरबसम्म अहिलेसम्म ८ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ ।
त्यस्तै कुवेतमा २ हजार ४ सय १४, ओमानमा ४ हजार २०, बहराइन १ हजार ३ सय ८५ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै युएईमा २ हजार १४ जनाको मृत्यु भएको बताईएको छ । मलेसियमा भने हालसम्म १३ हजार भन्दा बढीको मृत्यु भएको छ । मलेसियमा १३ हजार ७ सय १३ जनाको मृत्यु भएको बताइएको छ । मलेसियमा भने पछिल्लो सयम कोरोनाका कारण मृत्यु हुनेको संख्या निकै बढ्दै गएको छ । मलेसियामा दैनिक २ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । त्यहाँ शुक्रबार २ सय ३३ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । शुक्रबार संक्रमित हुनेको संख्या २३ हजार ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-