झापा : गैरकानूनीरुपमा गरिने वैदशिक रोजगारको धन्दा (एजेन्ट)को व्यवहार बिग्रिँदा झापामा सिंगो परिवारले नै आत्महत्याको बाटो रोजेर सखाप भएको छ । वैदेशिक रोजगारको एजेन्टको धन्दामा संलग्न झापा कनकाई नगरपालिका–१ का रविन विश्वकर्माले वैदेशिक रोजगारमा पठाउने व्यवहार बिग्रेपछि आफ्नी २९ वर्षीय श्रीमती र ८ महिनाकी छोरीसहित झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार म्यानपावर एजेन्ट विश्वकर्माले विदेश पठाइदिन्छु भनी स्थानीय र मोरङका धेरै जनासँग रकम लिएको तर विदेश पठाउन नसक्दा उत्पन्न तनावका कारण उनले परिवारसहित आत्महत्या गरेको देखिएको बताए ।
३४ वर्षीय रविन, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव झण्डिएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै शिशुसहितको आत्महत्याको घटना गम्भीर अनुसन्धानको विषय भएको बताएको छ ।
आफै पनि वैदेशिक रोजगारीमा जाने योजनामा रहेका विश्वकर्मा काठमाडौं आई कोरोना भाइरसको पीसीआर गर्दा पोजेटिभ देखिएपछि विदेश जान नपाएर झापा फर्किएका थिए । फर्केपछि विदेश जान उनलाई रकम दिएकाहरुले तत्काल विदेश पठाइदिन वा रकम फिर्ता गर्न दबाब दिएका थिए । सोही दबाबको तनाव झेल्न नसकी विश्वकर्माले सपरिवार आत्महत्याको बाटो अंगालेको बताइएको छ ।
सरकारले करिब तीन वर्षअघि नै एजेन्टको प्रावधान हटाएपनि वैदेशिक रोजगारमा कामदार पठाउने काममा गोप्यरुपमा लागेका हालपनि ठूलो संख्याका एजेन्टहरु क्रियाशील रहेको विश्वकर्माको आत्महत्या प्रकरणले देखाएको स्थानीय रमेश मैनालीले मध्यान्हलाई बताए ।
‘स्थानीय प्रशासनले पनि गैरकानूनीरुपमा एजेन्ट काम गर्नेहरुलाई कारबाही गर्न सकिरहेको छैन’, उनले भने, ‘पछिल्ला दिनमा वैदेशिक रोजगार ठगीको मुद्दालाई व्यक्तिवादी ठगीको परिभाषाभित्र पारेका कारण गैरकानूनीरपमा काम गर्ने एजेन्टहरुले वैदेशिक रोजगारका नाममा रकम र पासपोर्ट संकलन गर्दा वैदेशिक रोजगारमा जाने कामदारको लागत र अन्य खालका अनिश्चितता पनि बढाएको छ ।’ मध्यान्ह दैनिकले छापेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-