काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि दिएका आवेदनकहरूको कडाईका साथ छानविन शुरु गरेको छ । विभागका अनुसार मंगलबारसम्म ७ हजार ९ सय ९९ आवेदन प्रक्रिया पूरा गरेको देखिएको छ । विभाग स्रोतका अनुसार धेरै आवेदकले पेश गरेका कागजातको अध्ययनमा विभागले तोके अनुसारको मापदण्डमा पाइएका छैनन् । हाल प्रक्रिया पूरा गरेका ७ हजार ९ सय ९९ आवेदनहरुमध्ये कम्तीमा २५ देखि ३० प्रतिशत घट्न सक्ने बताइएको छ ।
विभागले इजरायल रोजगारीको आवेदन माग गर्ने सूचनामा एसएसलसी÷एसईई उत्तीर्णपछि १८ महिने सीएमए कोर्षको तालिम प्राप्त गरेको हुनुपर्ने उल्लेख गरेकोमा आवेदन दिनेहरु धेरैले दश महिने सीएमए उत्तीर्ण गरेका प्रमाणपत्रहरु पेश गरेको देखिएको छ ।
आवेदन दिएकामध्येबाट छनोट भइसकेपछि ३० प्रतिशत अर्थात तीन सय जना पुरुष र ७० प्रतिशत अर्थात सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् ।
विभागले आवदेनहरुको छानविनपछि भदौ महिनाभित्र परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर विभागमा महानिर्देशकले अवकाश लिएको र नयाँ महानिर्देशक नआएका कारण त्यसले प्रभाव पार्न सक्ने स्रोतले बतायो ।
विभागले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने बताएको छ ।
इजरायल रोजगारीका लागि शुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसका लागि १ हजार ४ सय जना छनोट हुने छन् । रोजगारी प्रणाली योग्यता प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।
विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ । मध्यान्ह दैनिकले छापेको छ
प्रतिक्रिया लेख्नुहोस्:-