नेपाल राष्ट्र बैंकले कृषि लगायतका उत्पादनमूलक क्षेत्रका ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्ता क्षेत्रमा प्रवाह हुने १ करोडसम्मकाे कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
अनुत्पादक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा लगानी गर्दै आएका बैंकहरुलाई कृषि तथा अन्य सीपमूलक व्यवसाय गर्नको लागि समेत सस्तो ब्याजदरमा नै कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकले यस्तो नीति लिएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रिय बैंकले १ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको छ।
गत वर्ष सम्म १५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्ययवस्था थियो।
त्यसमा पनि २० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने र प्रत्येक शाखाले यस प्रकारको कर्जा सम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ व्यवस्था गरेको छ। यसले केन्द्रिय बैंकले शहर केन्द्रित भन्दा पनि मोटर बाटो नपुगेको क्षेत्रका ग्राहकलाई समेत कर्जा उपलब्ध गराउन प्रोत्साहन गरेको छ।
नेपाल राष्ट्र बैंकले कृषि लयायतका उत्पादनमूलक क्षेत्रका ग्राहकलाई सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउन मौद्रिक नीतिमार्फत यस्तो नीति लिएको केन्द्रिय बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउछन्।
केन्द्रिय बैंकले कृषि तथा उद्योगको उत्पादन बढाउन त्यस्ता क्षेत्रमा सस्तो ब्याज दरमा नै कर्जा उपलब्ध गराउन प्रयास गरेको छ। अहिले बैंकहरुले ५.४१ प्रतिशतदेखि ७.९ प्रतिशतसम्म आधार दर कायम गरेका छन्। केन्द्रिय बैंकको नीति अनुसार अधिकतम २ प्रतिशत प्रिमियम थप गर्दा पनि ग्रहकले एकल विन्दुको ब्याजदरमा नै १ करोड रुपैयाँसम्मको कर्जा पाउने छन्।
अहिले बैंकहरुले सवारी साधान खरिद तथा अवास निर्माणको लागि आधार दरमा नै कर्जा लगानी गरिरहेका छन् बैंकहरुले यस्ता क्षेत्रमा कर्जा लगानी बढाउन नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएका छन्। तर कृषकले भने महाँगो ब्याजदरमा कर्जा लिनुपर्ने अवस्था छ।
केहि समय अघि मात्रै अर्थमन्त्री जनार्दन शर्माले समेत गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्ने बताएका थिए। केन्द्रिय बैंकको यो नीतिले अर्थमन्त्रीको योजनालाई समेत केहि हदसम्म सघाउ पुर्याएको देखिन्छ।
बैंकहरुले पनि केन्द्रिय बैंक र सरकारले कृषि लगायतका उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताउँछन्। “केन्द्रिय बैंकले ती क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ,” बैंकर्स संघका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् “तर यसले बैंकको आम्दानी भने घटाउछ।”
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आफ्नो कुल कर्जाको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। सो अनुसार बैंकहरुले पनि कृषि क्षेत्रमा कर्जा लगानी बढाउनुपर्ने छ। अहिले कृषि क्षेत्रमा बैंकहरुको कर्जा लगानी १० प्रतिशत पनि पुगेको छैन। “त्यो सेक्टर हाम्रो प्रायोरिटिको क्षेत्र हो भनेर सरकारले म्यासेज दिन खोजेको छ,” दाहाल भन्छन् “त्यो क्षेत्रमा हामीले कर्जा १५ प्रतिशत पुर्याउनुपर्ने छ अहिले १० प्रतिशत मात्रै कर्जा लगानी भएको हुनाले त्यो पुर्याउनेतर्फ हामी लाग्छौ।” बैंकहरुको भित्रदेखि इच्छाभन्दा पनि राष्ट्र बैंकले भनेको गर्नै पर्यो। त्यो भन्दा माथि गर्नको लागि उनीहरुको इच्छा नहुन सक्ने दाहाल बताउँछन्।
प्रतिक्रिया लेख्नुहोस्:-