काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायल रोजगारी अन्तर्गत केयर गिभरको छनोटका लागि हुने अंग्रेजी भाषाको परीक्षाको समय एक घण्टाको मात्र रहेको बताएको छ । विभागले यसअघि साउन १२ गते जारी गरेको सूचनामा अंग्रेजी भाषाको लिखित अंकभार ८० र समय अवधि २ घण्टाको हुने उल्लेख गरेको थियो ।
तर विभागले परीक्षा हुन भन्दा करिब डेढ हप्ताअघि आफ्नो सूचना सच्चाउँदै अंग्रेजी भााषाको परीक्षाको समय अवधि एक घण्टामात्र हुने बताएको छ । विभागले अंग्रेजी भाषाको लिखित परीक्षा ८० अंक र अन्तरवार्ता २० अंकको हुने उल्लेख गरेको छ । २० अंकको अन्तर्वार्ताका लागि भने समय अवधि छुट्याइएको छैन ।
विभागले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने बताएको छ । विभागले इजरायल रोजगारीका लागि शुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदार जान पाउने छन् । त्यसका लागि शुरुमा १ हजार ४ सयजना छनोट हुने छन् । छनोट योग्यता प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।
विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-