काठमाडौं। पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ विकेट लिएका हुन्। सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्। यससंँगै नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोब र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन्। कुशल मल्लले एक विकेट लिएका छन्।
यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपनर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन्। बिक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए। नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले ११.५ औं ओभरमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन्। चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२.५ औं ओभरमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन्।
यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १९ ओभरको खेल जारी रहँदा पिएनजीले ५ विकेट गुमाएर ८५ रन बनाएको छ। पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, करण केसीलाई आराम दिएको छ। दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-