नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानसेनापतिको शपथ लिएका छन्। योसँगै उनको तीन वर्षे प्रधानसेनापतिको कार्यकाल सुरु भएको छ । पूर्णचन्द्र थापाले प्रधानसेनापतिबाट अवकाश पाएपछि सो जिम्मेवारी शर्माले पाएका हुन् । शर्मा अघिका प्रधानसेनापति थापाले सेनामा केही नयाँ कार्यको सुरुवात गरेर गएका छन् । सेनालाई पारदर्शी तथा अनुशासित बनाउन र भ्रष्टाचारबाट टाढै राख्न थापाले आफ्नो कार्यकालमा प्रयास गरेका थिए । थापाले सुरु गरेका केही नयाँ कार्य मध्ये एक हो– सम्पत्ति विवरण सार्वजनिक ।
थापाले गरेको ‘सम्पत्ति विवरण’ सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यलाई शर्माले निरन्तरता दिन्छन् वा दिँदैनन् त्यो हेर्न बाँकी नै छ । प्रधानसेनापति शर्माले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । यसबाट के बुझ्न सकिन्छ भने प्रधानसेनापतिको रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न उनलाई कुनै अप्ठेरो पर्ने छैन, किनकि उनले अघिल्ला दुई आर्थिक वर्षदेखि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् ।
प्रधानसेनापति थापाले गत आर्थिक वर्ष २०७७/७८ मा आपूm रथी पदमा हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणअुनसार उनीसँग अचल सम्पत्तिमा साढे दुई तलाको घर नागार्जुन नरपालिका–४ मा छ । ६ आना जग्गाको कम्पाउण्डभित्र रहेको उक्त घर प्रधानसेनापति शर्माको आमा शुभद्रा पौडेलेको नाममा रहेको छ । यो उनको पैत्रिक सम्पत्ति हो ।
अचल सम्पत्तिमा उनको नागार्जुन नगरपालिका–४ मा ८.५ रोपनी जग्गा रहको छ। यो जग्गा आमा सुभद्रा पौडेलको नाममा रहेको छ । नागार्जुन नगरपालिका–६ मा आमाको नाममा नै ४ रोपनी जग्गा रहेको छ । यी दुवै जग्गालाई उनले पैत्रिक सम्पत्ति उल्लेख गरेका छन् । ललितपुर नगरपालिका–१५ मा श्रीमती सुनिता शर्माको नाममा ८ आना जग्गा रहेको प्रधानसेनापतिको सम्पत्ति विवरणमा खुलाइएको छ । उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरेको उनले जनाएका छन् ।
प्रधानसेनापति शर्मासँग २० तोला चाँदीका र १३.५ तोला सुनका गरगहना रहेका छन् । यी गरगहना उनले पैतृक तथा केही तलब भत्ताबाट खरिद गरेको बताएका छन् । बानेश्वरस्थित नबिल बैंकमा ७ हजार अमेरिकी डलर रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् जुन सैनिक सहचारी हुँदा प्राप्त भएको हो । उनको विशालबजारस्थित राष्ट्रिय बाणिज्य बैंकको खातामा १६ लाख रुपैयाँ र दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा ५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-